सर्वोत्तम पेन्ट्सको आइपिओ जेठ २८ देखि सर्वसाधारणका लागि खुल्ने, ७ लाख बढी कित्ता सेयर निष्कासन हुँदै
जेष्ठ २०, काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि जेठ २८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन तथा बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँ मूल्यको ८ लाख ५० हजार कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो।
सोमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जसको बाँडफाँट सम्पन्न भइसकेको छ। त्यस्तै, ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई छुट्याइएको कम्पनीले जनाएको छ।
अब कम्पनीले १७ हजार कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो। उक्त सेयरको कुल मूल्य ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबर हुनेछ।
आइपिओमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि असार २ गतेसम्म कायम रहनेछ। उक्त अवधिमा सम्पूर्ण सेयरका लागि आवेदन नपरेमा बिक्री अवधि असार ११ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस इस्युअर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
सर्वोत्तम पेन्ट्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।
लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी सी–आस्बा मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।




प्रतिक्रिया दिनुहोस्