१ देखि ९ कित्तासम्मको सेयर किनबेच सहज गरिँदै
काठमाडौं, १३ जेठ । हाल बजारमा १ देखि ९ कित्तासम्मको सेयर किन्न र बेच्न सकस छ ।
लगानीकर्ताको डिम्याट खातामा १ देखि ९ कित्तासम्म सेयर बसेको छ भने थप १० वा त्यसभन्दा बढी सेयर किनेर एकमुष्ठ बेच्नुपर्ने बाध्यता छ । यसले गर्दा लगानीकर्ता दोहोरो, तेहरो ब्रोकर कमिसन, डिम्याट शुल्क तिर्नुपर्ने बाध्यता छ ।
कम्पनीहरूले दिने बोनस सेयर, हकप्रद सेयर वा पहिले झुक्किएर पूरा सेयर बिक्री नहुँदा एकल सेयर संख्या डिम्याट खातामा बस्ने गर्छ ।
मुख्यतः सेयर बिक्री गरिसकेपछि आउने बोनस सेयरका कारण अधिकांश लगानीकर्ताको डिम्याट खातामा १ देखि ९ कित्ता सेयर थन्किरहेको छ । यस्तो सेयरले पोर्टफोलियो भद्रगोल देखिने, थप लाभबाट वञ्चित हुनुपर्ने बाध्यता छ ।
कुनै कम्पनीले १० प्रतिशत बोनस सेयर दियो, यदि डिम्याट खातामा ४।५ कित्ता मात्रै सेयर बसेको छ भने त्यस्तो सेयरमा बोनस पाइँदैन, बेच्न पनि पाइँदैन, मूल्य समायोजन हुँदा घट्न जान्छ ।
वर्षौंदेखि रहेको यो समस्या अब भने छिट्टै हल हुने भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले छिट्टै नै मार्केट डेप्थमा देखिने गरी १ देखि ९ कित्तासम्मको सेयर अर्डर पोस्ट गर्न सकिने व्यवस्था गर्न लागेको हो । प्राविधिक टिमसँग यसबारे छलफल भइरहेको नेप्से प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
१ देखि ९ कित्तासम्मको कारोबारलाई ‘अड लट’ कारोबार भन्ने गरिन्छ । अहिले पनि अड लट कारोबार नहुने होइन, तर त्यस्तो कारोबारको आदेश देखिँदैन । आदेश नै नदेखिँदा किनबेच पनि संयोगले मात्रै हुने गरेको छ ।
‘अड लट मूल कारोबार होइन, यो कारोबारले कुनै पनि सूचक र त्यो कम्पनीको मूल्यलाई पनि असर पार्दैन,’ पराजुलीले भने, ‘अब यस्तो सेयर पनि मार्केट डेप्थमा देखिने र कारोबारमा सहज गर्ने गरी तयारी गरेका छौं । प्राविधिक टिमले यसको काम सक्ने बित्तिकै लागु गरिने छ ।’
हाल १ देखि ९ कित्तासम्म सेयर किनबेच गर्नुपर्दा खरिद र बिक्रीकर्ता दुवै मिलेर उही संख्या र उही मूल्यमा आदेश हालेर म्याचिङ गराउनुपर्ने बाध्यता छ ।
मार्केट डेप्थमा देखिने गरी यस्तो सेयर संख्या किनबेचका लागि प्रविष्ट भएमा चाहनेले सहजै किनबेच गर्न सक्छन् । तर, यसरी हुने अड लट कारोबारले कुनै पनि सूचकलाई प्रभाव पार्ने छैन ।
प्रतिक्रिया दिनुहोस्