छुट्टाछुट्टै सडक दुर्घटना, ३ जनाको मृत्यु, १२ घाइते

काठमाडौं ।  रोकिराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा झापामा गएराति २ जनाको मृत्यु भएको छ।

मेची राजमार्गअन्तर्गत कमल गाउँपालिका–५ पाडाजुँगी चोकमा बिग्रिएर रोकीएको मे१त ४५२८ नम्बरको ट्याक्टरमा को३३प १९५१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ्गको उर्लाबारी नगरपालिका–८ का ३१ वर्षिय राजु लिम्बु र पछाडी बसेकी पथरी शनिश्चरे–८ का २५ वर्षीया विमला लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका उनीहरुको दमकस्थित लाइफलाइन अस्पतालमा पुर्याउने बित्तिकै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। ट्याक्टर र चालक तथा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, मोरङको मिक्लाजुङ गाउँपालिका–८ तोरीबारीस्थित मधुमल्ला–तोरीबारी सडक खण्डमा मे१ह ८६८१ नम्बरको ट्याम्पु दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

मधुमल्लाबाट तोरीबारीतर्फ जाँदै गरेको ट्याम्पु स्थानीय देवकोटा चोकमा आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका इलामको चुलाचुली गाउँपालिका–६ साक्फाराका ७० वर्षीय हर्कबहादुर बोहोराको उपचारका क्रममा उर्लाबारीस्थित अरनिको अस्पतालमा मृत्यु भएको छ।

चुलाचुली–६ साक्फाराका ५८ वर्षीया कमला बोहोरा, मोरङको मिक्लाजुङ गाउँपालिका–९ का २२ वर्षीया पूर्णिमा तामाङ र ८० वर्षीया सुभद्रा कार्की घाईते छन्।

उनीहरुको मधुमल्लास्थित साझा अस्पतालमा उपचार भइरहेको छ। ट्याम्पुका चालक मोरङ मिक्लाजुङ ९ मधुमल्लाका २६ वर्षिय लक्ष्मी तामाङ इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा छन्।

यस्तै, कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी नगरपालिका–९ मा को२च १००७ र को१ज २०६८ नम्बरका दुई वटा जिप ठोक्किँदा ९ जना घाइते भएका छन्।

खाँदबारीबाट तुम्लिङटार जाँदै गरेको अरुण तेश्रो जलविद्युत परियोजनाको नाममा रही जिल्ला प्रहरी कार्यालयले प्रयोग गरेको को२च १००७ नम्बरको जीप र विपरित दिशामा रहेको को१ज २०६८ नम्बरको जीप बडेनी मोडमा ठोक्किएका थिए।

दुर्घटनामा को १ च २०६८ नम्बरको जीपमा सवार ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्