चितवनमा बर्डफ्लु देखिएको पुष्टि, संक्रमित क्षेत्र घोषणा गरी पन्छी नष्ट गरिँदै

काठमाडौं ।  चितवनमा बर्डफ्लु देखिएको पुष्टि भएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ मा दुई जना किसानको खोरमा रहेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) भेटिएको हो। स्थानीय राजन चौधरी र लक्ष्मण चौधरीका करिब २५ सय कुखुरामा बर्डफ्लुको संक्रमण भएको पुष्टि भएपछि त्यस क्षेत्रमा क्षतिपूर्तिसहित कुखुरा नष्ट गर्ने काम सुरु गरिएको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक डा दयाराम चापागाईले जानकारी दिए।

चौधरीद्वयको कुखुराको खोरमा बैसाख १५ गते कुखुरा मरेका थिए। मरेका कुखुराको नमुना परिक्षण गर्दा बर्डफ्लु भएको पुष्टि बिहीबार मात्रै भएको हो।

बिहीबारको मन्त्रिस्तरको निर्णयपछि शुक्रबारदेखि फार्म र आसपासका क्षेत्रमा रहेका कुखुरा र हाँस मार्ने काम भइरहेको छ। दैवी प्रकोप ऐन अनुसार बर्डफ्लु पुष्टि भएको ठाउँको कुखुरा क्षतिपूर्तिसहित नष्ट गर्ने कानुनी व्यवस्था छ।

राजनको फार्ममा पालिएका एक हजार ५०० र लक्ष्मणको फार्ममा पालिएका एक हजार लेयर्स कुखुरा रोगले मर्न थालेपछि परीक्षणका लागि पठाइएको थियो। सँगै रहेका ती दुवै फार्मका सबै कुखुरा मरिसकेको चापागार्इंले बताए।

खोरमा रहेका कुखुरा धमाधम मर्न थालेपछि बैसाख १४ गते जाँचका लागि भरतपुरमा रहेको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला ल्याइएको थियो। परीक्षणमा एच फाइव एन वान (एभिएन इन्फ्लुएन्जा) नामक जीवाणु (भाइरस) भेटिएको थियो। त्यसपछि केन्द्रीय प्रयोगशालामा परीक्षणका लागि नमुना पठाइएको थियो। केन्द्रीय प्रयोगशालाले बैसाख ३१ गते बर्डफ्लु प्रमाणित गरेर पठाएको थियो।

संक्रमित क्षेत्र घोषणा
खैरहनी–९ सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ। उक्त क्षेत्रमा पक्षी तथा पक्षीजन्य पदार्थको ओसारपसारमा पनि रोक लगाइएको छ भने त्यस क्षेत्रमा रहेका पंक्षी सुरक्षितरुपमा नष्ट गरिएको छ।

यसैबीच पशु सेवा कार्यालयले कुखुराको खोर सफा गर्न अनुरोध गरेको छ। यो जीवाणु मानिसमा पनि सर्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणसमक्ष पनि कार्यालयले आग्रह गरेको छ।

यसअघि २०७० सालमा जिल्लामा बर्डफ्लु देखिएको थियो। सो समयमा बर्डफ्लुका कारण ठूलो संख्यामा कुखुरा मरेका थिए। नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लु देखापरेपछि नेपालमा उच्च सतर्कता अपनाइएको भए पनि बर्डफ्लु देखिएको हो।

कुखुराजन्य क्षेत्रमा नेपालमा रु ७० अर्बभन्दा बढी लगानी छ। जसमध्ये आधाभन्दा बढी लगानी चितवनमा छ।रासस

प्रतिक्रिया दिनुहोस्