बस र मोटरसाइकल ठोक्किएर १ को मृत्यु, त्रिशूली–काठमाडौं सडकखण्ड अवरुद्ध
काठमाडौं, २३ माघ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।
मोटरसाइकलमा सवार २२ वर्षीय जीवन राईको मृत्यु भएपछि मृतकका आफन्तले त्रिशूली–काठमाडौं सडकखण्ड अवरोध गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक श्रीकृष्ण बानियाँका अनुसार अहिले मृतकका आफन्तसँग वार्ता चलिरहेको छ ।
‘यहाँका स्थानीय र मृतकका आफन्तले बाटो अवरोध गरिरहनुभएको छ,’ बानियाँले भने, ‘हामी वार्ताको प्रयास गरिरहेका छौं ।’
गल्छिबाट त्रिशूलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.५८ प २८०४ नम्बरको मोटरसाइकल बुधबार दिउँसो पौने २ बजे एक आपसमा ठोक्किएको थियो ।
विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बेलकोटगढी नगरपालिका–७ बस्ने मोतीराम राईका छोरा जीवनको उपचारका लागि अस्पताल पुर्याएपछि निधन भएको प्रहरीले जनाएको छ ।
मृतकका आफन्तहरूले अहिले घटनास्थलमा पुगेर बाटो अवरोध गरिरहेका छन् ।
मोटरसाइकल जोगाउने क्रममा बस भित्तामा पुगेर ढुंगामा जोतिन पुगेको थियो ।
बसमा सवार १८ जना र मोटरसाइकलमा सवार १ जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल नुवाकोट लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्