मोरङ सामूहिक करणी प्रकरणमा ३ जनाविरुद्ध चार कसुरमा अनुसन्धान शुरु

काठमाडौं, ११ पुस । मोरङको कटहरी गाउँपालिका–२ को बाँस झ्याङ छेउमा अर्धचेत अवस्थामा भेटिएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

पक्राउ परेका तीन जनामाथि चार अभियोगमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार मोरङ कटहरी गाउँपालिका – २ का २० वर्षीय महमद रमजान, सोही स्थानका १९ वर्षीय सुनिलकुमार साह र भारतको अररिया जिल्ला कुसकिट्टा ग्राम पंचायत– ९ घर भइ कटहरी गाउँपालिका– २ मा बस्दै आएका १८ वर्षीय महमद गुल्जरलाई अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग र जवरजस्ती करणी मुद्दामा म्याद थप भएको हो ।

जहदा गाउँपालिका– ३ की २२ वर्षीया महिला कटहरी गाउँपालिका – २ को कदमगाछीमा रहेको बाँस झ्याङ नजिकै मुख थुनेर हातखुट्टा बाँधेर छाडिएको अवस्थामा फेला परेकी थिइन् । मंगलबार बिहान करिब साढे ४ बजे घर पछाडि रहेको जुडी खोलामा शौच गर्न गएकी महिलालाई तीन जनाले सिटी सफारीमा राखेर कदमगाछीमा लगेर जबरजस्ती करणी गरेको देखिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सो समूहले बलात्कारपछि अचेत भएकी महिलाको मुख थुनेर हातखुट्टा बाँधेर बाँस झ्याङ बाहिर छाडेका थिए । ‘घटनापछि अर्धचेत भएकी महिलालाई मुखमा कपडा कोचेर हातखुट्टा बाँधी छाडेको देखिन्छ,’ मोरङ प्रहरी प्रवक्ता डिएसपी जोशीले भने,‘ करणीको घटना लुकाउन हात्तखुट्टा बाँधेको जस्तो देखिन्छ ।’

प्रहरीका अनुसार रमजान र ती महिलाबीच चिनजान थियो । सिटी सफारी चालक रमजानले दुई जनाको सहयोगमा घटनास्थलसम्म लगेका थिए । प्रहरीका अनुसार घटनास्थल र महिलाको घर करिब ३ किलोमिटरको दूरीमा छ ।

प्रतिक्रिया दिनुहोस्