नारायणघाट–मुग्लिन खण्ड दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, २३ कार्तिक। नारायणघाट–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सत्र किलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँच जनामध्ये चार जनाको सनाखत भएको छ।

शुक्रबार बिहान ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नम्बरको माइक्रो र मुग्लिङ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी मृत्यु हुनेमा माइक्रोमा सवार गोरखाको आरूघाट गाउँपालिका(५ मान्बु बस्ने अन्दाजी ४०।४२ वर्षीय राजबहादुर गुरूङ, माइक्रो चालक चितवनको खैरहनी नगरपालिका(४ का ३९ वर्षीय अनोज अधिकारी, माइक्रोमा सवार भारत घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९ बस्ने ३६ वर्षीय राजकुमार साह र चितवन भरतपुर महानगरपालिका–३ का बस्ने ४० वर्षीय दुर्गाबहादुर थापा छन्।

दुर्घटनामा परी मृत्यु भएका एक महिलाको भने सनाखत हुन बाँकी रहेको डिएसपी रिजालले जानकारी दिए।

दुर्घटनामा परी ६ जना घाइते भएका छन्। जसमध्ये दुई जना सामान्य, दुई जना उपचार पछि डिस्चार्ज र एकजना गम्भीर रहेको डिएसपी रिजालले बताए।

प्रतिक्रिया दिनुहोस्