४ लघुवित्तको लाभांश घोषणा

काठमाडौँ, २१ असोज । नेप्सेमा सूचीकृतमध्ये चार लघुवित्त कम्पनीले लाभांश घोषणा गरेका छन्। गुराँस, आशा, फरवार्ड र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका हुन्।

नेप्सेमा ५० लघुवित्त कम्पनी सूचीकृत छन्।

गुराँस लघुवित्तः गुराँस लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश घोषणा गरिसकेको छ। कम्पनीको १४२ औँ सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई लाभांश वितरण हुनेछ।

यो प्रस्ताव पारितका लागि कम्पनीले असोज २९ गते साधारण सभा बोलाएको छ। धनकुटाको धनकुटा नगरपालिका–१, हिलेस्थित होटल कान्जिरोवामा बिहान ९ बजे सभा हुनेछ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज १६ गते बुक क्लोज गरिसकेको छ। असोज १५ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन तथा लाभांश पाउनेछन्।

आशा लघुवित्तः आशा लघुवित्तले पनि १५ प्रतिशत लाभांश घोषणा गरेको छ। गत आवको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव सञ्चालक समितिले गरेको हो।

असोज ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

फरवार्ड लघुवित्तः फरवार्ड लघुवित्तले पनि लाभांश घोषणा गरेको छ। गत आवको मुनाफाबाट १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव सञ्चालक समिति बैठकले गरेको हो।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५ करोड ५५ लाख रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

स्वाबलम्बन लघुवित्तः स्वाबलम्बनले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीको लाभांश गत वर्षभन्दा बढेको हो। गत वर्ष कम्पनीले १२.३६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६५ प्रतिशत नगद लाभांश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्