ब्रोकरको असोज २० गतेबाट आफ्नै टिएमएस

काठमाडौं, १८ असोज। ब्रोकर कम्पनीहरूले आफैँले सेयर कारोबारको आदेश दिन प्रयोग हुने कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) बनाएर सञ्चालनमा ल्याउने भएका छन्।

सेक्युर्ड सेक्युरिटिजले असोज २० गतेबाट नयाँ टिएमएस प्रणाली सञ्चालनमा ल्याउने भएको हो।

हालसम्म ब्रोकर कम्पनीहरूले नेपाल स्टक एक्सचेन्जले नै बनाएर दिएको टिएमएस चलाइरहेका थिए। नेप्सेले डेभलपर कम्पनी वाइकोमार्फत् बनेको टिएमएस ब्रोकर कम्पनीहरूलाई दिएको थियो।

अहिले सेक्युर्ड सहित नासा सेक्युरिटिज र साउथ एसियन बुल्स प्रालिले आफ्नै टिएमएस बनाएर सञ्चालनमा ल्याउन लागेको हो।

हालको टिएमएसबाट सेयर किनबेच आदेश दिने सामान्य काम मात्रै हुँदै आएको छ।

अब ब्रोकरहरूले सञ्चालनमा ल्याउने भनिएको टिएमएसमा चार–पाँच वटा नयाँ विशेषता हुनेछन्।

यी टिएमएसको मोबाइल एप, डेस्कटप भर्सन र वेब भर्सन तीन वटै हुनेछन्।

त्यस्तै, प्राविधिक विश्लेषण गर्न जान्नेहरूको लागि प्राविधिक विश्लेषणका औजारहरू समेत उपलब्ध हुनेछ।

लगानीकर्ताले कुनै सेयर अहिले बिक्री गरेको छ भने केही समयमै त्यो बराबरको रकम लगानीकर्ताको खातामा धरौटीको रूपमा देखिनेछ।

लगानीकर्ताले सो रकमबाट तुरून्तै सेयर किन्न सक्नेछ। अहिले जसरी धरौटी थपिरहनु पर्ने छैन।

त्यस्तै, यस्तो एउटै टिएमएसमा परिवारका टिएमएस खाता समेत आबद्ध गरेर उनीहरूकै नाममा समेत कारोबार गरिदिन सकिनेछ। अहिले हरेकले अलगअलग टिएमएस खोलेर किन्ने बेच्ने गर्नुपर्ने बाध्यता छ।

यसको लागि भने ब्रोकरको अनुमति आवश्यक पर्छ। अहिले एकै जनाले परिवारका विभिन्न व्यक्तिको नाममा कारोबार गर्ने गर्छन्। यसले त्यस्तो कारोबार गर्न सजिलो हुनेछ।

यो टिएमएसमा लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने र आफूले पाउनु पर्ने रकमको हरेक दिन विवरण प्राप्त गर्नेछन्। केही दिन अघिको कारोबारको जानकारी सहित लिनदिन बाँकी हिसाब देखिनेछ।

यो टिएमएसमा अहिलेकोमा जस्तै आफूले निगरानीमा राख्न चाहेको कम्पनीको सेयर र आफूसँग भएको सेयरको मौज्दात, मूल्यमा भइरहेको परिवर्तनको समेत जानकारी हुने सेक्युर्ड सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनालीले उल्लेख गरे।

केही समयअघि देखिनै अहिले सञ्चालनमा रहेका ९२ मध्ये ३३ ब्रोकरले यस्तो टिएमएस सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्