रुखले च्यापिएर दुई महिलाको मृत्यु , चट्याङ लागेर तीन जनाको ज्यान गयो

काठमाडौं । चितवनमा हावाहुरीका कारण दुई महिलाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका– १ की ४० वर्षीया सितौली श्रेष्ठ र ईच्छाकामना गाउँपालिका– ७ का ४१ वर्षीय कणबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

श्रेष्ठको घर नजिकैको सतन्चुली सामुदायीक वन र गुरुङको घरनजिकैको वनमा हावाहुरीका कारण ढलेको रुखले थिचिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिए ।

रुखको हाँगाले लागेर शिव गुरुङ र शिव थापामगर घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

चट्याङ लागेर तीन जनाको ज्यान गयो

मकवानपुरमा आइतबार राति चट्याङ लागेर तीन जनाको ज्यान गएको छ ।

चट्याङबाट मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का ६० वर्षीय कृष्णबहादुर बलामी, मनहरी गाउँपालिका २ ठाडोखोला झुल्यानका २८ वर्षीय भीमलाल सिन्तान र उनकी ३ वर्षीया छोरी बिमलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता दिलिपकुमार झाले बताए ।

उनीहरु तीन जनालाई चट्याङ लागेर हेटौंडा अस्पतालमा ल्याएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्