गोरखाको धार्चेमा गएको पहिरोमा बेपत्ता हुने ५ पुगे, दुई जना घाइतेलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो
काठमाडौं, १३ साउन। उत्तरी गोरखाको धार्चेमा गएको पहिरोबाट घाइते भएका दुई जनाको उपचारका लागि काठमाडौँ लगिएको छ । धार्चे ५ रेशा गाउँमा पहिरोमा परि अझै ५ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार स्थानीय ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलाश एयरको हेलिकोप्टर मार्फत उपचारका लागि टिचिङ अस्पताल लगिएको हो ।
बेपत्ताहरूको पनि पहिचान भएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार धार्चे गाउँपालिका ५ रेशा बस्ने ३७ वर्षका जीतबहादुर गुरुङ, उनकी श्रीमती ३५ वर्षकी कान्छी गुरुङ, बुबा ६० वर्षका सुलार कान्छा गुरुङ, सिम्ला बस्ने ३३ वर्षका रमेश गुरुङ र आरुघाट गाउँपालिका ७ आरुपोखरीका २४ वर्षीय रमेश परियार छन् ।
जीत घरका धनी हुन् । रमेश कामदार र अर्का रमेश परियार ट्याक्टर चालक हुन् । बेपत्ताको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । घटना स्थलमा नेपाल प्रहरीको टोली पुगिसकेको छ भने नेपाली सेना र सशस्त्र प्रहरीको टोली जाँदै छ ।
प्रतिक्रिया दिनुहोस्