नेप्से सूचकले २५ सयको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गर्यो
काठमाडौं,७ साउन । सेयर बजार दिनभरको उतारचढावका बाबजुद अन्ततः सकारात्मक बनेर बन्द भएको छ । सोमबार नेप्से सूचक २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा बन्द भएको हो । सेयर खरिदबिक्री रकम भने विगत २ दिनको तुलनामा केही घटेको छ ।
नेप्सेका १३ वटा मध्ये ७ वटा समूहका सूचक बढेका छन् । आज १३ अर्ब ९१ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
सोमबार सुरुवाती कारोबारमै नेप्से सूचक २५ सयको मनोवैज्ञानिक विन्दु माथि उक्लिएको थियो । लामो समय २५ सयको बिन्दुमाथी टिक्न भने सकेन । आज दिन भर सेयर बजार उतारचढाव कायमै रह्यो । इन्ट्रा डे मै नेप्से सूचकले ३ पटक २५ सयको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेको छ । बलियो रेजिस्टेन्स देखिएको यस विन्दुबाट माथि उक्लिएर कारोबार भएमा नेप्सेले नयाँ उचाई तय गर्ने सेयर विश्लेषकहरुले अनुमान गरेका छन् ।
पछिल्लो समय आम लगानीकर्ता उत्साहित हुँदा बजारले माथिल्ला विन्दुहरु तय गर्दै गएको छ । सूचकसँगै कारोबार रकममा पनि बढेको छ । बजारमा वृद्धिको यात्रा जारी भएसँगै नयाँ लगानीकर्ताहरुको प्रवेश पनि बढ्दै गएको हो । यसले सेयर बजारलाई थप गति दिने जानकारहरु बताउँछन् ।
सोमबार बजारमा बिक्रेताहरु पनि हावी देखिए जसका कारण कारोबारका अवधिमा पटकपटक नेप्से करेक्सन पनि भयो । सोमबार कारोबार खुलेको २ मिनेटमै नेप्से सूचकले २५ सयको मनोवैज्ञानिक विन्दु पार गरेको थियो । त्यसपछि भने बजारमा केही उतारचढाव देखियो ।
पछिल्ला दिनहरुमा समग्रमा हेर्दा नेप्सेमा सकारात्मक माहोल देखिएको छ । लगानीकर्ताहरु उत्साहित बनेको देखिन्छ । करिब ३ वर्षको बियरिस मारमा परेका लगानीकर्तामा अहिले केही सकारात्मक माहोल देखिएको छ । बजार बढ्न थालेपछि नयाँ लगानीकर्ता पनि भित्रिन थालेको र ब्रोकर कम्पनीहरुमा भिड शुरु भएको छ ।
नेप्से सूचक प्रवृत्ति र दैनिक कारोबार रकम हेर्दा बजारले बुल रन समाएको अनुमान गर्न सकिन्छ । तर यसको अर्थ, बजार एकोहोरो गतिमा मात्र अघि बढ्दैन । बेलाबेला सानातीना करेक्सन पनि हुने गर्छ । साना–ठूला करेक्सनहरुका पार गर्दै नेप्सेले क्रमशः माथिल्ला रेखाहरु तय गर्ने गर्दछ ।
पुँजी बजार सुधारका लागि सरकारले पनि प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म बजार सुधारका लागि प्रतिबद्ध देखिएका छन् । यता, केन्द्रीय बैंकले पनि लचिलो मौद्रिक नीति ल्याउने अनुमान गरिएको छ । ब्याजदर घटेको छ, तरलता पनि सहज अवस्थामा छ ।
कम्पनीहरुको चौथो त्रैमासको वित्तीय रिपोर्ट पनि आउन थालेको छ । नाफा बढेको रिपोर्ट आउन सक्यो भने बजार वृद्धिमा थप टेवा पुग्न सक्नेछ । आम लगानीकर्ताले पनि सबल वित्तीय सूचक भएका, लाभांश दिने कम्पनीहरु छानेर लगानी गर्दा जोखिम कम र लाभ बढी लिन सक्ने सम्भावना रहन्छ ।
सेयर बजार सुधारका लागि सरकार प्रतिबद्ध देखिएको छ । स्वयं प्रधानमन्त्रीले पनि पुँजी बजार वृद्धि आफ्नो सरकारप्रति जनताको विश्वासको संकेत हो भनिरहेका छन् । त्यस्तै, केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत लचिलो व्यवस्थाहरु गर्ने अनुमान गरिएको छ । यिनै कारणले लगानीकर्ता उत्साहित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्