९० मेगावाटको मस्र्याङदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो

काठमाडौं,१८ माघ । अर्धजलाशययुक्त ९० मेगावाटको मस्र्याङदी जलविद्युत् आयोजनामा ४ बैंक तथा वित्तीय संस्थाले साढे १० अर्ब रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुंगो लागको छ ।

कुमारी बैकको अगुवाईमा लगानी सम्बन्धी सम्झौतामा माघ १८ गते शुक्रबार हस्ताक्षर भएको हो । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मस्र्याङदी नदीमा सो आयोजना निर्माण हुनेछ ।

कुमारी बैक, प्रभु बैक, कृषि बिकास बैक र सिद्धार्थ बैकको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता गरिएको हो । हाल ४ वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र अन्य बैक तथा वित्तिय संस्थाहरुले पनि लगानी गर्ने बताइएको छ ।

निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ । प्रवद्र्धक कम्पनीका अनुसार ऋण लगानी तर्फ कुमारी बैकले ४ अर्ब, प्रभु बैकले ३ अर्ब, सिद्धार्थ बैकले २ अर्ब र कृषि बिकास बैकले १ अर्ब ५ करोड लगानी गर्नेछन् ।

आयोजनाको नेपाल बिद्युत प्राधिकरणसँग २०८० साल कातिक १ गते बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ । आयोजनाले व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति २०८६ साल बैशाख २२ रहेको छ ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा पेस भएको छ कम्पनीका अध्यक्षले बताए ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब(स्टेशनमा २२०-१३२ केभी मा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस्