इनमले दिए राष्ट्रिय मानवअधिकार आयोगमा उजूरी, आँखामा पट्टी बाँधे, जबरजस्ति बयान रेकर्ड गरियो

काठमाडौं, ११ मंसिर। बिचौलियाका रुपमा प्रचारित इनम सापकोटाको तर्फबाट उनकी पत्नी कविता पाण्डेले राष्ट्रिय मानवअधिकार आयोगमा उजूरी दिएकी छन् । ४ पेज लामो उजुरीमा सापकोटाले आफूलाई गैरन्यायिकरुपमा हिरासत राखिएको भन्दै जीवन रक्षाको माग गरेका छन् ।

उजुरीमा उल्लेख गरिएअनुसार सापकोटालाई भारतको नयाँ दिल्ली जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिएपश्चात दुई दिनसम्म आँखामा पट्टी बाँधे राखिएको र विभिन्न मानसिक यातना दिइएको दाबी गरिएको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, कांग्रेस सभापति गगन थापालगायत उच्चपदस्थ व्यक्तिहरूविरुद्ध बयान दिन दबाब दिइएको र जबरजस्ति बयान रेकर्ड गरिएको सापकोटाले दाबी गरेका छन् । कृत्रिम बौद्धिकता ९एआई० बाट समेत फर्जी प्रमाण सिर्जना गरी फसाउन खोजिएको आरोप उनको छ ।

आयोगमा १६४४ नम्बरमा दर्ता भएको उक्त निवेदन नेपालको संविधानको धारा २४९ तथा राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा १० बमोजिम पेस गरिएको उल्लेख छ ।

उजुरीमा उल्लेख भएअनुसार अध्ययन तथा व्यावसायिक कामका लागि वैदेशिक भ्रमण गरिरहने सापकोटा गत असोज १४ गते बिहान करिब १०ः३० बजे भारतको नयाँदिल्ली जान भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

विमानस्थलमा बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँच स्थलमा पुगेका बेला प्रहरीले साथमा रहेका २ वटा मोबाइल फोन खोसी नियन्त्रणमा लिएर गाडीमा राखी आँखामा पट्टी बाँधेर अज्ञात स्थलमा लगेको दाबी गरिएको छ ।

असोज १४ देखि १५ गते साँझसम्म अज्ञात स्थलमा कालोपट्टी लगाएरै राखी सोधपुछ गरिएको र सो क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, उहाँका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतमा कार्यरत केही न्यायाधीशहरूविरुद्ध प्रमाण र बयान दिए छाडिदिने भनी प्रलोभन र धम्की दिइएको निवेदनमा जिकिर गरिएको छ ।

बयान नदिए स्वयं र परिवारसमेतलाई नराम्रो हुने तथा लामो समय जेल बस्ने गरी झुटा मुद्दा लगाउने धम्की दिँदै मानसिक यातना दिइएको आरोप लगाइएको छ ।

आफूले कुनै गैरकानुनी कार्य नगरेको र ती व्यक्तिहरूमध्ये कोही व्यक्तिगत चिनजान वा गुरु–शिक्षक र कोही चिन्दै नचिनेका सार्वजनिक पदधारण गरेका व्यक्ति भएकाले अनाहकमा अरूविरुद्ध बोल्न नसक्ने भनी अस्वीकार गरेको निवेदनमा उल्लेख छ ।

त्यसपछि प्रहरीले लेखेको कागज एकातिरको आँखाको पट्टी माथि सारी सबैले सुन्ने गरी ठूलो स्वरमा पढ्न लगाएको र पछि तिनै कुरा समेटिएको कागजमा हस्ताक्षर गर्न भन्दा आफूले नजानेको र गर्दै नगरेको कुरामा सही गर्न इन्कार गरेको सापकोटाको दाबी छ ।

निवेदनमा भनिएको छ, ‘पक्राउ गरेको दिन प्रहरीले पढ्न लगाएका कुराहरू रेकर्ड गरी काँटछाँट गरेर सार्वजनिक गरिएको रहेछ ।

‘नेपाली कांग्रेसको आधिकारिकताको विवाद र सर्वोच्च अदालतका माननीय न्यायाधीशहरूको सेटिङ जस्ता अडियोका सम्बन्धमा आफन्त र पछि प्रहरीको थप बयानका क्रममा सुनाउँदा थाहा पाएँ,’ सापकोटाले भनेका छन् ।

कागजमा हस्ताक्षर गर्न नमानेपछि असोज १५ गते साँझ आँखामा पट्टी र त्यसमाथि चश्मा लगाई जिल्ला प्रहरी परिसर भद्रकाली ल्याएर थुनामा राखिएको र खल्तीमा २ वटा कागज हालिदिएको निवेदनमा उल्लेख छ ।

भोलिपल्ट असोज १६ गते बिहान साढे ८ बजे हतकडी लगाएर २ वटा सुटकेससहित पानीपोखरी हाइट होम्स अपार्टमेन्टस्थित निवासमा लगिएको र ५ महिने छोरी, श्रीमती तथा जेठानहरूको अगाडि घरका सबै कोठा खानतलासी गरिएको बताइएको छ ।

खानतलासीमा पुरानो ल्यापटप, पुरानो फोन र केही कागजात मात्र फेला परेपछि बाहिर आँगनमा राखिएको सुटकेस भित्र ल्याई साइड ब्यागबाट विदेशी मुद्रा निकालेर घरमै फेला परेको भनी मुचुल्का बनाइएको दाबी निवेदनमा छ ।

मुचुल्का बनाउँदा श्रीमतीलाई पहिल्यै खाली पानामा दस्तखत गराइएको र २ दिनअघि नै खोसिएको आइफोनसमेत गलत तरिकाले मुचुल्कामा उल्लेख गर्न खोजिएको आरोप लगाइएको छ।

असोज १४ गते साँझ विमानस्थल अगाडिको सार्वजनिक सडकमा महिला लगायत सर्वसाधारणमाथि अभद्र व्यवहार गरेको भनी झुटो मुद्दामा म्याद थप गरिएको दाबी गर्दै निवेदकले विमानस्थल भित्रैबाट पक्राउ परिएकाले सिसिटिभी फुटेज र बोर्डिङ पास जाँच गरिनुपर्ने माग गरेका छन् ।

यस्तै, १ हजार ३ सय अमेरिकी डलर र केही भारतीय रुपैयाँ बरामद भएको विषयमा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय कारोबारसम्बन्धी परिपत्र २०८२ को विषय सूची नं। ९ अनुसार कानुनी व्यवस्थाभित्रै रहेर रकम साथमा लिएर गएको भनी कानुन व्यवसायीले बहस गरेपछि थुनामै राख्ने मनसायले सम्पत्ति शुद्धीकरण मुद्दा थप गरिएको आरोप निवेदनमा लगाइएको छ ।

प्रहरी नियन्त्रणमै रहेका बेला आफ्नो मोबाइल २ दिनसम्म अनाधिकृत व्यक्तिलाई दिई छेडखानी गरिएको र एआईबाट सिर्जित कागजातसमेत प्रमाणका रूपमा प्रस्तुत हुन थालेको जानकारी पाएको निवेदनमा उल्लेख छ ।

अनुसन्धानका सामग्री चुहाएर आरोप प्रमाणित नहुँदै ‘देशकै सबैभन्दा ठूलो बिचौलिया’ र ‘फिक्सर’ जस्ता उपनाम दिई मिडिया ट्रायल गरेर बदनाम गराइएको तथा श्रीमतीमाथि समेत लाञ्छना लगाइएको दाबी गरिएको छ ।

यसबाट नेपालको संविधानको धारा २० ९न्यायसम्बन्धी हक० ले प्रदान गरेको निर्दोषिताको अनुमान र स्वच्छ सुनुवाइको हक तथा धारा २८ ९गोपनीयताको हक० कुण्ठित पारिएको जिकिर गरिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले इनामको परिवारका सदस्यले लिएर आएको उजुरी दर्ता भएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘आज कार्यालय समय सकिने बेलातिर परिवारका सदस्य उजुरी लिएर आउनुभयो । अध्यक्षज्यूलाई बुझाएर विधिवत दर्ता भएको छ ।’

आफूले उजूरी अध्ययन गर्न नपाएको खरेलले बताए । यदि उजुरीको विषयवस्तु आयोगको क्षेत्राधिकारभित्रको छ भने आवश्यक कारवाही प्रक्रियामा लैजाने उनको भनाइ छ ।

‘अब सोमबार कार्यालय खुलेपछि उजूरी अध्ययन गरेर यदि मानवअधिकार उल्लंघनको विषय छ भने आवश्यक प्रक्रिया अगाडी बढाउछौँ,’ उनले भने ।

उजुरीमा भएको इनामकी पत्नीको फोन नम्बरमा सम्पर्क गर्दा उनले बोल्न चाहिनन् । रङ नम्बर भएको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्