उदयपुरका ग्रामीण सडक वर्षाको कारण अवरुद्ध
काठमाडौं, ३० असार। निरन्तरको वर्षाले जिल्ला सदरमुकाम गाईघाटसँग जोडिएका अधिकांश पहाडी र ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ ।
सदमुकाम गाईघाटदेखि रौतामाई गाउँपालिका हुँदै उत्तरी पहाडी क्षेत्र बाँसबोटे–माँझखर्क सडक वर्षाले भत्किएर अवरुद्ध छ । सदरमुकाम गाईघाट–रानीबास–रसुवा हुँदै लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, ताम्लिछा तथा लाकु लाफागाउँ, जाँते जोड्ने सडक धेरै ठाउँमा भत्किएकले यातायात सञ्चालन हुन नसकेको जाँतेका स्थानीय हर्क बुढाथोकीले बताए ।
ताम्लीछा, बराह, बलाम्ता रसुवा गाईघाट सडक वर्षा र पहिराले अवरुद्ध भएपछि सदरमुकाम गाईघाट आवतजावत बन्द भएको ताम्लीछास्थित महेन्द्रदीप माध्यमिक विद्यालयका शिक्षक मनिचन्द्र राईले बताए ।
गाईघाटबाट खोटाङ सदरमुकाम दिक्तेल जोड्ने सडकमा पर्ने रानीबास, छामलिङ, फोक्सिङ्टार र सुवासहितका ठाउँमा पहिरो जाँदा सवारीसाधन सञ्चालन गर्न समस्या भएको यातायात व्यवसायी नरेश कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्