डुम्रे–बेसीसहर अवरूद्ध सडक एकतर्फी खुल्यो
काठमाडौं,९ असार । सडकमाथिबाट लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको डुम्रे–बेसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ।
आइतबार बिहानदेखि अवरूद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मेघनाथ चापागाइँले जानकारी दिए।
शनिबारदेखि परेको पानीले बेसीसहर नगरपालिका-१ दलालमा बिहान पहिरो खस्दा यातायात ठप्प भएका थिए।
‘बिहानै सडक विभागको मेसिनले पहिरो पन्छाएपछि अहिले एकतर्फी सञ्चालन हुने व्यवस्था मिलाइएको छ,’ इन्स्पेक्टर चापागाइँले भने।
सडक अवरुद्ध भएपछि लमजुङबाट काठमाडौं, पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको थियो।
अहिले एकतर्फी खुलेपछि रोकिएर रहेका सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाइएको छ।
पहिरो पूरै पन्छाउन र दुइतर्फी नै यातायात सुरू हुन एकाध घन्टा लाग्ने इन्स्पेक्टर चापागाइँले जानकारी दिए।
यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
प्रतिक्रिया दिनुहोस्