८ दिनदेखि बेपत्ता महिलाको शव भेटियो

काठमाडौं, २ असार । धनुषाको महेन्द्रनगरबाट आठ दिनअघि बेपत्ता एक महिलाको शव फेला परेको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेको अवस्थामा शनिबार भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक सोनुकुमार साहले मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा ती महिलाको शव भेटिएको बताए ।

रुबीको श्रीमान् राजनारायण यादव केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्केका थिए । स्वदेश फर्किएपछि यादवसँग निरन्तर झगडा हुँदै आएको थियो ।

गत शनिबारदेखि हराइरहेकी रुबीको खोजी गर्न उनका भाइ अनितले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएका थिए । रुबी बेपत्ता भएको उजुरी परेपछि सम्भावित स्थानमा खोजतलास गर्दा शनिबार राति मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा शव फेला परेको प्रहरी निरीक्षक साहले बताए ।

प्रहरीका अनुसार रुबी बेपत्ता भएको उजुरी पर्ने बित्तिकै रुबीका श्रीमान् राजनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । उनले श्रीमतिको हत्या गरेको स्वीकार गरेका छन् ।

प्रहरी निरीक्षक साहका अनुसार राजनारायणले गत शनिबार घुम्न जाने भनेर औरही सामुदायिक वनमा श्रीमतीलाई लिएर गएको र त्यहीँ हत्या गरेर जङ्गलमा लास फालेको बयान दिएका छन् ।

प्रहरीले शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्दै अभियुक्तलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्