लागु औषध फार्मेसीबाट बिक्री गरेको आरोप, ४ जना पक्राउ

काठमाडौं, २ असार । औषधि पसलबाट लागु औषध बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गोरखाको पालुङटार नगरपालिका–४ घर भएका २५ वर्षीया बिनिता कुमाल, भक्तपुरको भक्तपुर नगरपालिका–४ घर भएका २४ वर्षीय रुकेश श्रेष्ठ, सिन्धुली घर भएका २३ वर्षीय राकेश खड्का र ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ घर भएका २२ वर्षीय ध्रुव कटवाल छन् ।

उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये बिनिता फार्मेसी सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

उनको नाममा दर्ता भई गोंगबुस्थित मित्रनगरमा सञ्चालनमा रहेको कविता फार्मेसीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

त्यसैगरी प्रहरी प्रभाग कोटेश्वरले पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–३ घर भएका २६ वर्षीय दीपेन्द्र ओलीलाई लागु औषधसहित पक्राउ गरेको छ । उनको कोठाबाट लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुबाट औषधिजन्य लागु औषध बरामद भएको छ । बिना अनुमति बेच्न नमिल्ने औषधिहरु उनीहरुले किनबेच गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध लागु औषधको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्