मिलेमतो गरि सेयरमा चलखेल गर्ने टिभी प्रस्तोतासहित ८ जनालाई ५ वर्ष प्रतिबन्ध
काठमाडौं,३० जेठ । भारतीय सेयर बजार नियामक निकाय सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (सेबी)ले सेयर बजारमा गैरकानुनी ढंगबाट चलखेल गर्ने ८ जनालाई प्रतिबन्ध लगाएको छ ।
सेबीले भारतीय टेलिभिजन च्यानलमा ‘सीएनबीसी आवाज’ को सेयर बजार सम्बन्धी कार्यक्रमको पूर्वप्रस्तोता प्रदीप पाण्ड्या र धितोपत्र बजारका अन्य ७ संस्थालाई ठगी कारोबार गरेको अभियोगमा ५ वर्षसम्म धितोपत्र बजारमा प्रतिबन्ध र सामुहिकरुपमा २.६ करोड भारु जरिवाना गरेको पीटीआईले उल्लेख गरेको छ ।
प्रदीप पाण्ड्यासहित सेबीले प्रतिबन्ध लगाएका अन्यमा अल्पेश फुरिया, मनिष फुरिया, अल्पा फुरिया, अल्पेश वासन्जी फुरिया एचयुएफ, मनिष वी फुरिया एचयूएफ, महान इन्भेष्टमेन्ट र तोशी ट्रेड रहेका छन् । पाण्ड्या अगस्त २०२१ सम्म सीएनबीसी आवाजमा विभिन्न कार्यक्रमहरुको होस्ट तथा सह–होस्ट रहेका थिए । त्यस्तै, अल्पेश फुरिया टेलिभिजन च्यानलमा अतिथि वा बाह्य विशेषज्ञको रुपमा देखा पर्ने गरेका थिए भने आफ्नो ट्विटर ह्यान्डलमा विभिन्न स्टक सिफारिसहरु दिने गरेका थिए ।
प्रदिप पाण्ड्याले ‘पाण्ड्या का फण्डा’ नामक टिभी कार्यक्रममा दिएका स्टक सिफारिसहरु र अल्पेश फुरियाले सन् २०१९ नोभेम्बरदेखि २०२१ जनवरीसम्मको अवधिमा सञ्चालन गरेका ‘बाई टुडे–सेल टुमोरो’ ट्रेडहरु र इन्टर–डे ट्रेडहरुबीच उच्च सम्बन्ध रहेको पाइएको छ । सीएनबीसी आवाजको प्रस्तोताको रुपमा काम गर्दा पाण्ड्या र अल्पेश फुरियाले आगामी स्टक सिफारिसहरु सम्बन्धी गोप्य जानकारी एकअर्कालाई साझा गर्ने गरेको सेबीले जारी गरेको ५५ पृष्ठको आदेशमा उल्लेख छ ।
अल्पेश फुरियाले यस विशेषाधिकार प्राप्त जानकारीको सदुपयोग गर्दै आफ्नै खाताहरु र सम्बन्धित निकायहरुमार्फत सेयर कारोबार सञ्चालन गरेका थिए । कारोबार सिफारिसहरु सार्वजनिक रूपमा प्रसारित हुनु अघि नै फुरियाले नाफा बुक गर्ने गरेका थिए । सेबीले प्रतिबन्धसहित पाण्ड्या र फुरियालाई जनही १ करोड भारु र बाँकी ६ संस्थालाई १०–१० लाख रुपैयाँका दरले जरिवाना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्