विहे गर्छु भन्ने प्रेमीले गर्भपतन गर्न नमानेपछि दलित भन्दै गरे प्रेमिकाको हत्या

काठमाडौं। अछाममा एक प्रेमीले यौन सम्बन्धपछि गर्भवती भएकी प्रेमिकाको हत्या गरेको खुलासा भएको छ । जिल्लाको पंचदेवल नगरपालिका वडा नम्बर ९ भानाकोटकी १६ बर्षिय उर्मिला टमट्टाको प्रेमीसंग यौन सम्बन्धपछि गर्भपतन गर्न नमान्दा हिजो बिहान हत्या भएको हो ।

गाउँकै तिलक बटालाले बिहे गर्ने भन्दै यही बैशाख १५ गते साँझ उर्मिलालाई भगाएर लिएका थिए । लामो समयदेखि उनीहरु प्रेममा रमाउदै आएका तिलकले गर्भवती उर्मिलालाई गर्भपतन गर्न दबाब दिएका थिए ।

उर्मिलाले गर्भ पतन नगर्ने र आफुलाई विवाह गर्न भनेपछि प्रेमी तिलकले घर नजिकैको जंगलमा रहेको गोठमा मंगलबार बिहान हत्या गरेको खुलेको छ ।

उर्मिलाले कालिकोटको नन्दादेवी उच्च मावि कोटवाडामा भर्खरै एसईई दिएर बसेकी थिइन् । तिलकले हत्यापछि उर्मिलाको लास गोठमा रहेको परालको थुप्रोभित्र लुकाएर उर्मिलाका बुवालाई बोलाएर भिरबाट लडेको भन्दै लास लिएर अन्तेष्ठी गर्न दबाब दिएका उनका दाजु नवराज टमट्टाले जानकारी दिए ।

अछामको चिल्तडामा रहेको प्रहरी चौकिले उर्मिलाको लास बरामद गर्दै हत्या गर्ने उनकै प्रेमी तिलकलाई हिजो नै पक्राउ गरेको छ ।
शवको पोष्टमार्टमका लागि अछामको सदरमुकाम मंगलसेन र्पुयाइएको छ । हत्या गर्ने तिलकलाई पनि जिल्ला प्रहरी कार्यालय मंगलसेनमा राखिएको छ ।

तिलकका आफन्तले अहिले पनि घटना साम्य पार्न आफुहरुलाई दबाब दिइरहेका उर्मिलाका दाजु नवराजको भनाई छ । उर्मिला दलित भएकै कारण उनको हत्या भएको स्थानीयको भनाई छ ।

नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय कार्यालय सदस्य विष्णुबहादुर बिकले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । कारबाही नगरी घटना साम्य पार्न खोजी आफ्नो संगठनले कडा कारबाही गर्ने बिकले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्