नेप्से सामान्य अंकले घट्यो, कारोबारमा भने बढोत्तरी
काठमाडौं,२४ जेठ । बिहीबार नेप्से परिसूचक सामान्य अंक अर्थात् १.९३ अंकले घटेर २ हजार ७७.७८ विन्दुमा बन्द भएको छ । घट्नेक्रमलाई हप्ताको अन्तिम कारोवारले पनि निरन्तरता दिएको हो ।
त्यसैगरी, आज राम्रा र बलिया कम्पनी मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि १.२७ अंकले घटेर ३७०.३४विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३२२ वटा कम्पनीको कुल ८८ लाख १३ हजार ३७४ कित्ता शेयर करिब ४ अर्ब ३८करोड ८२ लाख बराबरको कारोबार भएको छ ।
लगानीकर्ताहरुले बजार घट्नुको कुनै ठोस कारण नभएको तर मनोबल उच्च हुन नसक्दाको परिणाम भएको बताएका छन् । उनीहरुले बजारमा नयाँ पैसा आउन नसकेको कारण बजार सुस्त गतिमा रहेको पनि बताएका छन् । बजारका मुख्य खेलाडी अझै पनि ‘पर्ख र हेर’ को अवस्था रहेको व्यवहार देखाइ रहदा बजारमा सुस्ति देखिएको बताउँछन् ।
घटेको बजारमा आज १०१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३५ वटा कम्पनीको घटेको छ । त्यसैगरि ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
लघुवित्त र जलविद्युत उपसमूहको परिसूचक करिब एक प्रतिशतले बढेको छ भने वित्त उपसमूहको परिसूचक भने सर्वाधिक २.०८ प्रतिशतले घटेको छ ।
यस दिन दुई वटा अलग अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा इमर्जिङ्ग नेपाल, मिड सोलु हाइड्रोपावर छन् । यो दिन बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.८८ प्रतिशतले बढेको छ ।
अनि, एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे १४ करोडको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको कारोबार १४ करोड रुपैयाँभन्दा बढी छ ।
प्रतिक्रिया दिनुहोस्