किराँत समुदायका जातिले आज उभौली पर्व मनाउदै

काठमाडौं ।  किराँत समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले प्रकृतिको पूजा गर्दै आज उभौली पर्व मनाउदैछन् । अन्नबाली राम्रोसँग सप्रियोस्, पानी परोस्, कीरा, फट्याँङ्ग्रा तथा जङ्गली जनावरले दु:ख नदिउन्, सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दैवीप्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ ।

तराईतिर गर्मी बढेर माछा, पशुपंक्षी, चराचुरुङ्गी, कीरा फट्याङ्ग्रासमेत उभो चिसो लेकतिर बसाइ सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने पर्वलाई उभौली भनिएको हो ।

किराँत जातिको बसोबास रहेका पूर्वी भागका खोटाङ, भोजपुर, उदयपुर, संखुवासभा, धनकुटा, सोलुखुम्बुु, ओखलढुङ्गा, सुनसरी, मोरङ, इलामलगायतका जिल्लामा हर्षोल्लासका साथ यो पर्व मनाइन्छ ।

पछिल्लो पटक काठमाडौंमा बसोबास गर्ने किराँत समुदाय पनि एकै ठाउ भेला भई यो पर्व मनाउने प्रचलन बढेको छ ।

यसैबीच , पर्वको अवसरमा शुभकामना दिदै राष्ट्रपति भण्डारीले आर्थिक समृद्धि, सामाजिक विकास, दिगो शान्ति, सुशासनतर्फ अग्रसर वर्तमान अवस्थामा सबै समुदायका नेपालीहरुमा राष्ट्रलाई एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न यस महान पर्वले थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्