कञ्चनपुरको पुनर्वासको विवाद संयुक्त सर्वे टोलीले हल गर्ने

काठमाडौं । कञ्चनपुरको पुनर्वासस्थित सीमा क्षेत्रमा देखिएको विवाद नेपाल–भारत संयुक्त सर्वे टोलीले टुंगो लगाउने भएको छ । विद्युतीय तार जडानमा अवरोध गरेको विषयलाई लिएर उत्पन्न विवाद संयुक्त सर्वे टोलीले टुंगो लगाउने सहमति भएको हो ।

जंगली जनावर गाउँ पस्न नदिनका लागि गत बिहीबार पुनर्वास नगरपालिका–९ बिचफाँटाका स्थानीवासीले विद्युतीय तारवार लगाइरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल एसएसबी ले हस्तक्षेप गर्दै काम रोकेपछि विवाद भएको थियो । उक्त विवाद नेपाल–भारत संयुक्त सर्वे टोलीले समाधान गर्ने विषयमा नेपाल–भारतका स्थानीय अधिकारीबीच सहमति भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।
सर्वे टोली विगत केही महिनायता कञ्चनपुर–कैलालीकै सीमा क्षेत्रमा खटिएको छ ।

भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न बिचफाँटामा यसअघि करीब दुई हजार ९ सय मिटर तार जडान गरिसकिएको छ ।
सोही क्षेत्रमा रहेको प्यारातालको विषय पनि लामो समयदेखि विवादित रहँदै आएको छ । दुधुवा राष्ट्रिय निकुञ्जबाट हरेक वर्ष जंगली जनावर नेपाल प्रवेश गरेर धनजनको ठूलो क्षति पु¥याउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्