काठमाडौं महानगरको कार्यालय ९ बजेदेखि सञ्चालन हुने

काठमाडौं,१६ वैशाख । काठमाडौं महानगरपालिकाले आज आइतबारबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ ।
सेवा सहजताका लागि बिहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको महानगरले जनाएको छ । बेलुकाको समय भने कुनै परिवर्तन भने नगरिएको जनाएको छ । महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागु हुने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

यसरी थप गरिएको समयमा काम गर्नका लागि कर्मचारीहरुलाई प्रोत्साहन गर्न ‘काठमाडौं महानगरपालिका कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ । सेवामा गुणस्तरीयता र प्रभावकारिताका लागि अतिरिक्त समयमा समेत कार्य सम्पादन गर्न आवश्यक रहेकोले पदीय जिम्मेवारी वहन गर्न उपलब्ध गराउने स्रोत, साधन सम्बन्धी व्यवस्था मापदण्डले गरेको छ ।

सरकारी तथा निजी क्षेत्रमा काम गर्ने कर्मचारीलाई महानगरपालिकाले गरेको यो व्यवस्थाले सेवा प्राप्त गर्न सहजता हुनेछ । कार्यालय जानु पूर्व महानगरपालिका र यस अन्तर्गतका विभिन्न कार्यालयहरूबाट सेवा प्राप्त सजिलो होस भन्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयन गरिएको प्रवक्ता नविन मानन्धर जनाए ।

प्रतिक्रिया दिनुहोस्