प्रभु ईन्स्योरेन्सले बोलायो वैशाख २० मा वार्षिक साधारणसभा

काठमाडौं,२९ चैत । प्रभु इन्स्योरेन्सले २८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले अर्को महिनाको वैशाख २० गतेका लागि सभा आह्वान गरेको हो ।

सभा काठमाडौंको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा हुने कम्पनीले जनाएको छ । उक्त सभाकालागि कम्पनीले वैशाख ७ गते बुक क्लोज तोकेको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ । लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८० साल असार मसान्तको वासलात तथा आव २०७९/८० को नाफा–नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरु सभाले अनुमोदन गर्नेछ।

सञ्चालक समितिबाट प्रस्ताव गरेबमोजिम प्रस्तावित बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि आव २०७९/८० सम्मको सञ्चित नाफाबाट कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० को ०.२५ प्रतिशतले हुन आउने रकम रु. ३४ लाख ४० हजार ३०६ नगद लाभांश र ४.७५ प्रतिशतले हुन आउने रु. ६ करोड ५३ लाख ६५ हजार ८०७ रकमबराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल बीमा प्राधिकरणबाट तोकिएबमोजिमको चुक्तापुँजी रु २ अर्ब ५० करोड पुर्याउन सम्बन्धित निकायले दिएको निर्देशनबमोजिम हुने गरी हकप्रद शेयर वा नियमानुसारको अन्य कुनै विकल्प भए सोहीबमोजिम हुने गरी बीमा प्राधिकरणको स्वीकृतिपश्चात आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। सञ्चालक समितिको संरचनामा परिवर्तन गरी सञ्चालक समितिमा कम्तीमा १ जना महिला सञ्चालक र १ जना स्वतन्त्र सञ्चालकसहित जम्मा ७ जनाको सञ्चालक समिति गठन गर्ने र सोहीबमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख ७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्