अछाममा चट्याङ लागेर ७ जना घाइते, असिनापानीले गहुँबाली नष्ट

काठमाडौंमंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन्।

असिनापानीसँगै परेको चट्याङ लागेर मंगलसेन–५ की मनिषा भाट केकी घण्टा बेहोस भएकी थिइन्। अहिले उनको अवस्था सामान्य बनिरहेको प्रहरीले जनाएको छ। अन्य ६ जना घाइते सामान्य उपचारपछि घर फर्किएका छन्।

यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले ६ बाख्रा मरेको तथा १ सयभन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए। किसानले व्यावसायिक रुपमा गरेको बाख्रापालन क्षेत्रमा बाढी परेको थियो।

यसैबीच असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो क्षति पुर्याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउदले जानकारी दिइन्। उनले भनिन्,‘पाकेको गहुँ असिनाले नष्ट गरिदियो। अब के खाने भन्ने चिन्ताले सताउन थालेको छ।’

बाक्लाे असिना परेपछि तरकारी र गहुँ खेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस्