सूर्यज्योतिको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो

काठमाडौं, २१ चैत । आज सेयर बजारमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आकर्षक लाभांश घोषणा गरेसँगै कम्पनीको सेयर कारोबारमा उछाल आएको हो ।

कारोबार मात्रै नभई कम्पनीको सेयर मूल्य पनि बढेको छ । कम्पनीको सेयर मूल्य ६।७४ प्रतिशतले बढेर प्रतिकित्ता ५१८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३२।७० रुपैयाँले बढी हो ।

कम्पनीले बुधबार मात्रै सेयरधनीलाई कूल चुक्ता पूँजिको ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यसैको प्रभाव दोश्रो बजारमा देखिएको हो । बजारमा कम्पनीको २५ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस र २४.७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

समग्रमा बुधबारको बजार तीव्र उतारचढावकाबीच नेप्से परिसूचक ३.४३ अंंकले घटेर २००६.७८ बिन्दुमा बन्द भएको छ । सेयर कारोबार भने अघिल्लो दिनको तुलनामा बढेको छ । बुधबारको बजारमा २ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबार बजारमा तीन लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः १०, ९.९७ र ९.९१ प्रतिशतले बढेको छ । त्यसैगरि जीवन बीमा, लघुवित्त र म्यूचुअल फण्ड समूह बढेका र बाँकी समूह घटेको छ ।

प्रतिक्रिया दिनुहोस्