भारतीय सेयर बजार निफ्टी अल टाइम हाई विन्दुमा, सेन्सेक्स पनि बढ्यो

काठमाडौं,७ फागुन । भारतीय सेयर बजार सोमबार बढेको छ । ‘बीएसई सेन्सेक्स’ लगातार पाँचौं कारोबार दिन वृद्धि हुँदा ‘निफ्टी ५०’ सूचकले नयाँ अल टाइम हाई रेकर्ड बनाएको छ । सेन्सेक्स सोमबार २८१ अंकले बढेर ७२,७०८ विन्दुमा पुगेको छ । यता, निफ्टी ५० पनि हालसम्मकै उच्च २२,१२२ विन्दुमा बन्द भएको हो ।

इन्ट्राडे कारोबारमा निफ्टी सूचक २२,१८३ को अल टाइम हाई विन्दुसम्म पुगेको थियो । विश्वका प्रमुख सेयर बजारहरुमा देखिएको सकारात्मक माहोल, बलियो भारतीय अर्थतन्त्र, तरलता र अपेक्षित भन्दा सहज मुद्रास्फीति सम्बन्धी तथ्यांकले भारतीय सेयर बजार निरन्तरजसो बढिरहेको छ ।

फेब्रुअरी महिनाभर फेडरल रिजर्भको ब्याजदर नीति, भारतको अर्थतन्त्र सम्बन्धी तथ्यांक, कच्चा तेलको भाउ र विदेशी लगानीले नै भारतको सेयर बजारलाई बढी प्रभावित बनाउने देखिएको छ । हालसम्म अमेरिकी फेडरल रिजर्भले ब्याजदर कटौतीको सम्भावनालाई कम गर्दै गएपनि भारतीय सेयर बजार सूचकहरु भने लचिलो देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्