बाल बाल सम्हालियो सेयर बजार

काठमाडौं,२ फागुन । नेप्से सूचक बुधबार ५.९१ विन्दुले बढेर २०७६.५० अंकमा आएर बाल बाल सम्हालिएको छ ।

आज नेप्सेमा ४ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ७ वटा समूह सकारात्मक रहेका छन । फाइनान्स समूहमा सबैभन्दा बढी वृद्घि देखिएको छ । मौद्रिक नीतिको अर्थवार्षिक समीक्षापछि रुष्ट भएका लगानीकर्ता विस्तारै सम्हालिने प्रयासमा लागेका हुन् । अपेक्षा अनुसारको समीक्षा नआएको भन्दै मंगलबार बजार दोहोरो अंकले घटेको थियो ।

बैंकहरुले कर्जाको ब्याजदर घटाउँदै लगेकाले सेयर बजारका लागि आगामी दिनमा सकारात्मक पक्षहरु नै हावी हुन सक्ने विश्लेषण गर्दै लगानीकर्ता सम्हालिन थालेका हुन् । त्यसो त केन्द्रीय बैंकले प्रथम त्रैमासको मौद्रिक नीति समीक्षामै धेरै नीतिगत परिवर्तन गरिसकेको छ । सेयर धितो कर्जामा जोखिम भार घटाउनेदेखि व्यक्तिगत कर्जाको सीमा बढाउनेसम्मको कदम चालिसकेको छ । अहिले ब्याजदर निरन्तर घट्दोक्रममा रहेको छ । यसर्थ, केही करेक्सनहरुका बाबजुत पनि नेप्सेले माथिल्लै रेखाहरु तय गर्ने विश्लेषणहरु भइरहेका छन् ।

मौद्रिक नीति समीक्षामा अलि बढी अपेक्षा गरेका थिए । सोही अपेक्षा पूरा नभएको भन्दै मंगलबार अलि फराकिलो अंकले नेप्सेमा गिरावट आएको थियो । विशेषगरी ५० लाख रुपैयाँभन्दा माथिका सेयर धितो कर्जामा जोखिमभार घट्ने तथा व्यक्तिगत तथा संस्थागत लगानीमा लगाइएको सीमा हट्ने आशा आम लगानीकर्ताले गरेका थिए । तर समीक्षामा यी कुरा समेटिएनन् ।

अहिले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले कर्जा लिएर अधिकतम १५ करोडसम्म र संस्थागतले बढीमा २० करोड रुपैयाँसम्म मात्र लगानी गर्न पाउने सीमा निर्धारण गरिएको छ । साना र मझौला लगानीकर्ताका लागि यो सीमा पर्याप्त हो । यस्तै, केन्द्रीय बैंकले नीतिगत अप्ठेराहरुलाई आगामी समीक्षाहरु पनि फुकाउँदै जाने बताएको छ । यसैगरी, सेयर कर्जाको जोखिमभार अनुपातले पनि बजारमा असर गरिरहेको लगानीकर्ताको बुझाई छ । अहिले ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत छ । यसलाई १०० प्रतिशतमा झार्नुपर्ने माग गरिएको थियो । तर केन्द्रीय बैंकले अहिले यो सीमा चलाएन ।

बजारले प्रारम्भिकरुपमा नकारात्मक प्रतिक्रिया जनाए पनि विस्तारै सम्हालिने संकेत गरिसकेको छ । फागुन १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदर थप घटाएका छन् । निक्षेपको ब्याजदर निकै तल आइसकेको छ । निक्षेपमा ब्याजदर घटेपछि बैंकहरुको कस्ट अफ फन्ड घट्न जानेछ । यसकारण आगामी दिनमा कर्जाको ब्याजदर पनि थप सस्तो हुँदैछ । बेस रेट घट्दै जाने भएकाले कर्जाको ब्याजदर पनि झन् सस्तो हुने भएको हो । ब्याजदर घटेको विषयले सेयर बजारमा दीर्घकालीनरुपमै सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

सेयर बजारमा उतारचढावहरु आइरहने भएकाले आम लगानीकर्ताले मजुबत वित्तीय अवस्था भएका, लाभांश दिन सक्ने कम्पनीमा लगानी गर्नुपर्छ । होल्ड गर्ने अवधिसमेत निश्चित गरेर लगानीकर्ता आगामी दिनमा लाभ लिन सम्भावना अधिक रहेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्