प्रदेश नं ७ को बजेट छलफलमा सत्ता पक्षकै आलोचना  

काठमाडौं ।  प्रदेश नं ७ को सरकारले ल्याएको चालु आर्थिक वर्षको बाँकी अवधिको बजेटमाथिको आजको छलफलमा प्रदेशसभा सदस्यहरुले समेटिनुपर्ने धेरै विषय नसमेटिएको र बजेट कनिका छरे झै गरेको आरोप लगाएका छन् ।

गत आइतबारको प्रदेशसभा बैठकमा सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को बाँकी अवधिका लागि बजेट प्रस्तुत गरेको थियो ।

आजको बैठकको छलफलमा भाग लिने सत्ता पक्षकै सदस्यले बजेटमा केहि सकारात्मक भएता पनि  धेरै विषय तथा एजेण्डा छुटेको आरोप लगाएका छन् । उनीहरुले कैलाली कञ्चनपुरको मुक्त कमैया समस्या र कञ्चनपुरको आरक्ष पीडितको समस्या समाधानमा बजेटले सम्बोधन नगरेको, थारु समुदायको हितमा बजेटले प्राथमिकता नदिएको, थारु समुदायमा मात्र देखिने गरेको सिकलसेल एनिमिया रोगको उपचारका लागि पर्याप्त बजेट नछुट््याइएको भन्दै सदस्यहरुले आरोप लगाएका हुन् ।

प्रतिपक्षका सदस्यले भने बजेट कनिका छरे जस्तै गरी आएको, वितरणमुखी, कार्यकर्तामुखी भएको, महिला थारु, पिछडिएको समुदाय र क्षेत्रका लागि पर्याप्त बजेट नछुट्याइएको, आर्थिक मूल्यमान्यता विपरीत आएको, श्वेतपत्र, नीति कार्यक्रम र बजेटमा तालमेल नमिलाइएको भन्दै आलोचना गरेका छन्  ।

आजको बैठकको छलफलमा नेपाली काँग्रेसका कर्णबहादुर मल्ल, कुमारी नन्दा बम, गोविन्दराज बोहरा, राष्ट्रिय जनता पार्टीका मालामती कुमारी राना थारु र कृष्णबहादुर चौधरी, नेकपा (एमाले)का दुर्गा कुमारी कामी, लालबहादुर खड्का, चुनकुमारी देवी चौधरी, कृष्णराज सुवेदी, अमरबहादुर साउद, अर्चना गहतराज, ले बजेटमाथि आ–आफ्नो धारणा राख्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक वैशाख १४ गते दिनको ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्