बानेश्वरको सडकमा गुड्दागुड्दैको बस भासियो

काठमाडौं, १२ माघ। काठमाडौंको मुटु नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो ।

सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । नजिकै रहेका ट्राफिक प्रहरीहरु आएर बसलाई त्यहाँबाट हटाउन सहयोग गरिरहेका छन् ।

यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोकनजिकै सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीमार्फत् करिब ६ वर्षअघि माइतीघर–तीनकुने सडक करिब ५० करोड रुपैयाँ लागतमा निर्माण गराएको थियो ।

आठ लेन फराकिलो उक्त सडकका दुवैतर्फ २.५ मिटर फुटपाथ र २.५ मिटरकै साइकल लेन छ । दुवैतर्फ चारलेन सडकपछि दुई–दुई मिटरको हरियो बगैंचा निर्माण गरिएको छ ।

त्यतिबेला यो सडकले देशकै फराकिलो र सुन्दर सडकको रुपमा चर्चा पाएको थियो । निर्माण सम्पन्न भएको एक वर्षमै सडकका विभिन्न ठाउँमा खाल्डाखुल्डी परेपछि यसको गुणस्तरमा प्रश्न उठेको थियो ।

अहिले पनि हरेक वर्ष वर्षायाममा नयाँबानेश्वर चोकमै पानी जम्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्