५ बुँदे काठमाडौं प्रज्ञा घोषणा–पत्र २०८० जारी गर्दै प्राज्ञिक भेला सम्पन्न

काठमाडौँ, १५ पुष। नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सङ्घ, प्रदेश तथा स्थानीय तहका भाषा, साहित्य, सङ्गीत, ललितकला, संस्कृति, नाट्यसँग सम्बन्धित प्रज्ञा–प्रतिष्ठान–परिषद्–समितिहरूको प्राज्ञिक भेला नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न भएको छ । भेलामा तीनवटै प्राज्ञ–प्रतिष्ठानका कुलपति प्रमुख अतिथि रहनुभएको थियोे ।

भेलाका प्रमुख अतिथित्रय नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले संयुक्त रूपमा सो भेलाको उद्घाटन गर्नुभएको थियोे ।

यसैक्रममा प्रमुख अतिथि राईले नेपालका प्राज्ञहरूले देशको बहुसांस्कृतिक मूल्यलाई आत्मसात् गर्दै गणतान्त्रिक प्राज्ञिक र सांस्कृतिक सत्तालाई स्थापित गर्नुपर्दछ । साथै प्राज्ञिक मर्यादामा आँच आउन नदिन सङ्घ, प्रदेश र स्थानीय तहका प्रज्ञा–प्रतिष्ठानको संरचना एकआपसमा नबाझिने गरी प्राज्ञिक र सांस्कृतिक सत्तालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

यसैगरी अर्का प्रमुख अतिथि हार्तम्छालीले प्राज्ञिक स्वायत्ताका लागि विमर्शसहित नवगठित प्रज्ञा–प्रतिष्ठानका संरचनामा एकरूपता ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो । साथै उहाँले कला, साहित्य, सङ्गीत र संस्कृतिमा सरोकारी निकायको भूमिका विषयक अवधारणापत्र समेत प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी अर्का प्रमुख अतिथि शर्माले प्रज्ञा–प्रतिष्ठानहरूले कतिपय सबालमा साझा क्यालेन्डर बनाउँदै अघि बढ्नुपर्ने जरुरी रहेको र सरकारले प्राज्ञिक मर्यादालाई नजरअन्दाज गर्न नमिल्ने बताउनुभएको थियोे ।

यस भेलामा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ विमलनिभा र नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईको उपस्थिति थियो। यस भेलाको अध्यक्षता नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले गर्नुभएको थियोे । यस भेलामा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी श्रमिकले सांस्कृतिक क्षेत्रको विकासमा साझा प्रतिबद्धता नामक अवधारणा प्रस्तुत गर्नुभएको थियोे । उहाँले यसमा संवैधानिक व्यवस्था र संस्थागत अवस्था, केन्द्रीय, प्रादेशिक र स्थानीय तहका प्रज्ञा–प्रतिष्ठानको संरचना र अवस्था, मर्यादाक्रम, पद र सेवासुविधा र सहकार्यका बारेमा अवधारणा प्रस्तुत गर्नुभएको थियोे ।

यस भेलामा नेपाल सङ्गीत तथा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुष्मा महरा प्रगतिले स्वागत मनतव्य राख्नुभएको थियो ।

यस भेलामा उद्घोषण ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले गर्नुभएको थियो ।

यस भेलामा नेपाल प्रज्ञा (प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य डा. मधुसूदन गिरी,  डा. कृष्णराज अधिकारी, बाबा बस्नेत , डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली, प्राज्ञसभा सदस्य चेतनाथ धमला, पञ्चकुमारी परियार, डा. विष्णुकुमार सिङ्जाली, प्रकाश तिवारी र डा. सूर्यप्रसाद यादव उपस्थित रहनुभएको थियोे ।

यसैगरी भेलामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य पाल्साङ्मो लामा, दिनेश्वर महत्तो,अरुणा हिङ्माङ, सौरगङ्गा दर्शनधारी, प्रदीप अधिकारी, सञ्जय बान्तवा र प्राज्ञसभा सदस्य कृष्णप्रकाश शाह उपस्थित रहनुभएको थियो ।

यसैगरी भेलामा नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमाल सुवर्ण हिसन समाल, डक्टर किरात, टीका पुन,  प्राज्ञसभा सदस्यद्वय महेश गोदार र पुरु लम्साल उपस्थित रहनुभएको थियो ।

यसैगरी सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका साहित्य तथा भाषा विभाग प्रमुख सुरेन्द्र गुरुङ, भरतपुर प्रज्ञा–प्रतिष्ठान चितवनका उपकुलपति इन्द्रप्रसाद रेग्मी, बिर्तामोड भाषा,साहित्य, कला प्रतिष्ठानका अध्यक्ष भगवती ढुङ्गेल, सुनापति प्रज्ञा–प्रतिष्ठानका उपकुलपति मानबहादुर दोङ, गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारी, महाङ्काल प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष रामसुन्दर केसी, नगर साहित्य कला तथा सङ्गीत प्रतिष्ठान रोल्पाका सल्लाहकार दीप डाँगी, गल्याङ प्रज्ञा–प्रतिष्ठानका कार्यवाहक अध्यक्ष चण्डिकाप्रसाद भट्टराई, गैँडाकोट प्रज्ञा–प्रतिष्ठानका सदस्य रामहरि शर्मा, लालबन्दी नगर वाङ्मय परिषद्का सदस्य विप्रहरि दाहाल, बर्दघाट प्रज्ञा–प्रतिष्ठानका सदस्य मन गोल्डी, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका सदस्य डा.दीपेन्द्र पराजुली, दुधौली प्रज्ञा–प्रतिष्ठानका सल्लाहकार दिल पौडेल, रत्ननगर प्रज्ञा–प्रतिष्ठान चितवनका सदस्य कमल अर्याल, महालक्ष्मी नगरपालिकाको महालक्ष्मी साहित्य समाजका अध्यक्ष श्रीराम पौडेल लगायतको सहभागिता रहेको थियो । उक्त भेलाले सहभागीहरूबिच छलफल तथा उहाँहरूको सुझावपछि निम्नअनुरूप ५ बुँदे  ‘काठमाडौँ प्रज्ञा घोषणा–पत्र २०८०’ समेत जारी गरेको थियोे ।

जसमा बुँदागत रूपमा (१) २०८० साउन १३ गते गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा पोखरामा सम्पन्न भएको प्रज्ञा भेलामा जारी भएको १० बुँदे घोषणा–पत्रलाई निरन्तरता दिँदै सो घोषणा–पत्रमा उल्लेख भएका विषयहरूलाई लागु गर्न पहल गर्ने, (२) प्रदेश तथा पालिका तहका सांस्कृतिक संरचनाले भाषा, साहित्य, सङ्गीत, नाटक, ललितकला, विज्ञान तथा प्रविधि विधालाई पनि अनिवार्य रूपमा समावेश गर्ने व्यवस्था मिलाउने र (३) प्रदेश र पालिका तहका सांस्कृतिक संरचनाहरूको संरचनागत एकरूपता कायम गरी एकै प्रकारको कानुनी व्यवस्था समेत कायम गर्नका लागि ऐनको मस्यौदा तयार पारी दुई महिनाभित्र तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिसमक्ष मस्यौदा पेस गर्नेगरी नेपाल सङ्गीत तथा नाट्य–प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईको संयोजकत्वमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशी, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्रदीप अधिकारी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सुरेन्द्र गुरूङ, साहित्य,कला, सङ्गीत, कला प्रतिष्ठान बिर्तामोडका अध्यक्ष भगवती ढुङ्गेल र नगर साहित्य, कला, सङ्गीत, प्रतिष्ठान, रोल्पाका दीप डाँगी रहेको ७ सदस्यीय प्रदेश र पालिकातहको सांस्कृतिक संरचना ऐन मस्यौदा समिति भेलाद्वारा गठित, (४) मा कानुनको मस्यौदा निर्माण गर्दा प्रदेशतहका प्रज्ञा–प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र प्राज्ञसदस्य रहने र पालिका तहका संरचनामा अध्यक्ष, उपाध्यक्ष, सदस्य सचिव र प्राज्ञ सदस्य रहेको पदीय संरचना हुने गरी व्यवस्था गर्नुपर्ने, यसरी संरचना गठन गर्दा सबै पदहरू स्रष्टाहरूबाटै मनोनयन गर्ने व्यवस्था गरी जनप्रतिनिधिलाई प्रमुख संरक्षक र संरक्षक पदमा राख्ने व्यवस्था गर्ने । साथै, मस्यौदा निर्माण गर्दा प्रदेश र स्थानीयतहका सांस्कृतिक संरचनाहरूलाई सङ्घीय प्रज्ञा–प्रतिष्ठानहरूसँग समन्वयको व्यवस्था मिलाउनुपर्ने र (५) माथि उल्लिखित मस्यौदा तयार भएपछि सङ्घीयतहका तीनवटै प्रज्ञा–प्रतिष्ठानको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पहल गरी कानुनी एकरूपताका लागि मस्यौदालाई प्रदेश र स्थानीयतहमा पठाउने व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता भेलाले गरेको थियो।

यस प्राज्ञिक भेलाले २०८० साल साउन १३ गते १० बुँदे ‘प्रज्ञा पोखरा घोषणापत्र २०८० लाई आत्मसात् गर्ने सहमति गरेको थियो । सम्प्रेषण प्राज्ञ चेतनाथ धमला

प्रतिक्रिया दिनुहोस्