हिमालयन रिइन्सुरेन्सको आइपीओमा तेस्रो दिनसम्म कति पर्यो आवेदन ?
काठमाडौं २९, मंसिर । हिमालयन रिइन्सुरेन्सको आइपीओमा तेस्रो दिनसम्ममा ३ अर्ब ७२ करोड ११ लाख ४० हजार ७४० रुपैयाँ बराबरको आवेदन परेको छ । आज तेस्रो दिन शुक्रबार साँझ ५ बजेसम्ममा १० लाख ७१८ जनाले १ करोड ८० लाख ६३ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले मंसिर २७ गतेबाट सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको हो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको हो । सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला तथा बाँडफाँट भइसकेको छ ।
त्यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर यस कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी भएको हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत यो आइपीओ भर्न सकिनेछ । यस आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यसमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधि भित्र सबै सेयर बिक्री नभएमा पुस ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ । यसरी क्रेडिट रेटिङ रिपोर्टलाई आधार मान्ने हो भने यो कम्पनीको सेयर खासै जोखिम भने देंखिंदैन । हाल मुलुकमा यो सहित अहिले २ वटा पुनर्बिमा कम्पनी सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्