नयाँ वर्ष लागेसँगै शेयर बजार हरियाली तर्फ

काठमाडौं । नयाँ वर्ष २०७५ लागेसँगै नेपाल स्टक एक्सचेन्जमा कारोबार रकम र नेप्से समेतमा सुधार आएको छ । निरन्तर ओरालो लागेको शेयर बजार बैशाख २ गतेपछि हरियो भएसँगै कारोबार रकममा पनि उल्लेख्य मात्रामा सुधार देखिएको छ ।

चैतको वित्तीय विवरणले भोलिको लाभांश कति हुनसक्छ भनेर अनुमान लगाउन सकिन्छ । साथै चैत्रमा घटेको बजारबाट सस्तो मूल्यमा शेयर उठाउन पाइने भएकाले लगानीकर्ताको प्रवेश पनि बढेर जान्छ । शेयर बजारमा भर्खर प्रवेश गर्न चाहने र नियमित लगानी गर्नेहरु पनि सक्रिय हुने समय बैशाख बन्ने गरेको छ ।

बैशाखमा शेयर बजारमा प्रवेश गर्नेले आगामी चारदेखि पाँच महिनाभित्रै लाभांश पाउन थाल्छन् ।
बजारमा एक पटक चमक देखिन थालेपछि चुपलागेर बसेका लगानीकर्ता पनि धमाधम खरीदबिक्रीमा सक्रिय हुन थाल्छन् । यसले गर्दा शेयर बजारमा कारोबार स्वतः बढ्छ ।

कति अंकले बजार बढ्छ भन्ने कुरा कम्पनीको प्रस्तुति र सरकारको नीतिमा भर पर्छ, बैशाखदेखि भदौ असोजसम्मको समयलाई वुलिस ट्रेण्ड कै रूपमा हेर्ने गरिएको पाइन्छ ।

चैतमा ब्याज तिर्नु पर्ने दवावमा लगानीकर्ता हुन्छन् । बैशाख लागेसँगै करको तनाव सकिन्छ । बैशाख महिना लगानीकर्ताका लागि बजारमा केन्द्रित हुने उपयुक्त समय मानिन्छ ।

बैशाख लागेसँगै सरकारको बजेट खर्च पनि सुधार आउने गरेको छ । सरकारको ढुकुटीबाट पैसा वाहिरिन थालेपछि बैंक तथा वित्तीय क्षेत्रमा रहेको तरलतामा केही सुधार आउँछ । बैंकिङ क्षेत्रमा देखिएको सुधारले शेयर बजारलाई पनि उत्साहित बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्