घलेम्दी हाइड्रोले मंसिर १० गतेदेखि २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

काठमाडौं २२, कात्तिक । घलेम्दी हाइड्रो लिमिटेडले मंसिर १० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

 

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुक क्लोज गरेको थियो। यस अनुसार कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्