भिजन लुम्बिनी उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं २०, कात्तिक । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले कात्तिक १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज २० गते अन्तिम दिन रहेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अहिले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले प्रबर्धन गरिरहेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.४६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति ३३ वर्ष बाँकी रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्