हिमालयन रि इन्स्योरेन्सको आईपीओ कात्तिक २१ गतेदेखि
काठमाडौं ३, कात्तिक । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले कात्तिक २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो । सोमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्