कुन देशमा कसरी मनाइन्छ दसैं?

हिन्दुहरूको महान चाड हो दसैं। यो चाडमा सबैभन्दा धेरै आर्थिक गतिविधि हुने गर्दछ। मिठो खाने, राम्रो लागाउने गर्ने पर्वका रुपमा मनाइन्छ। यो देश–विदेशबाट आफन्तहरू जम्मा हुने मौका पनि हो। मान्यजनहरूबाट आशीर्वाद थाप्ने र शुभेच्छा साटासाट गर्ने अवसर पनि हो।

दसैं यो शब्द सुन्नसाथ सबैको मनमा आउने भनेको लामो बिदा, आफुबाट टाढा रहेका परिवारका सदस्यसँग भेटघाट, मिठोमसिनो खाने, नयाँ लुगा लगाउने, पिङ खेल्ने भन्ने आउँछ।

नेपालमा दसैंको गहिरो प्रभाव छ। धार्मिक आस्था र विश्वास मात्र नभएर यसको सामाजिक आर्थिक सम्बन्ध र प्रभाव पनि महत्वपूर्ण छ। नेपाल सानो मुलुक भएपनि यहाँ दसैं मनाउने शैलीमा धेरै अन्तर छन। देशको पूर्वी भागमा दशमीको दिन देखि कोजाग्रत पूर्णिमासम्म नै टिका थाप्ने चलन छ। तर पश्चिममा भने धेरै जसोले दशमीको दिनमा मात्र टिका लगाउँछन। समुदाय अनुसार पुजा र चालचलन पनि फरक फरक छ।

दसैं नेपालबाहेक भारत, बङगलादेश, बर्मा, मलेसिया लगायत थुप्रै मुलुकमा मनाइन्छ। सबै ठाउँको चलन फरक फरक छ।

हेरौं कहाँ कसरी मनाइन्छ:

१. काश्मीर

नवरात्री पर्वको रुपमा भारतको काश्मीर क्षेत्रका हिन्दुहरूले दसैं मनाउँछन। त्यआँ दसैंलाई निकै पवित्र चाडको रुपमा लिइन्छ। त्यसैले बालबालिका बाहेक घरका सबै सदस्यले लगातार ९ दिनसम्म पानी मात्र खाएर खपावास बस्ने चलन छ। हरेक दिन खीर भवानी देवीको पूजा गरिन्छ।

२. उत्त्र भारत

उत्तरप्रदेश, बिहार उत्तराखन्ड र मध्यप्रदेश क्षेत्रको दसैं दुर्गा मााता भन्दा भगवान राममा बढी केन्द्रित छ। नौ दिनसम्म तुलसीदासले लेखेको रामचरित्रमानसमा आभारित भएर रामलिलाको प्रर्दशन हुन्छ। बिहारको सितामाडीमा जनावर, हस्तकलाका सामान र घरयासी सामान किनमेलको निकै ठूलो मेला लाग्ने गर्दछ।

३. हिमाञ्चल प्रदेश

माञ्चल क्षेत्रवासीले दुर्गाको अलवा स्थानीय देउता रघुनाथको पनि भव्य पुजा गर्दछन। हजारौंको सहभागीतामा झाँकी सहित झकिझकाउ पारेर देउताका मुर्ति बोकेर नाँचगान गर्दै यात्रा गर्ने चलन छ।

४. बंगलादेश र पश्चिम बंगल

दसहराको नाममा पश्चिम बंगालमा ५ दिन मात्र दसैं मनाइन्छ। ठाउँठाउँ दुर्गा भगवतीका भव्य र आकर्षक मुर्ति निर्माण गरिन्छ। मिठाई र मिठामिठा परिकार पकाएर दाने चलन छ। अनि बंगलादेशका हिन्दुहरू पनि पाँच दिनको नै दसैं मनाउँछन। राजधानी ढाका लगायतका ठाउँमा देवि दुर्गाको विशाल मन्डप बनाइएको हुन्छ। अन्तिम दिन नदीमा लगेर विसर्जन गर्ने चलन छ।

५. महाराष्ट्र

महाराष्ट्र क्षेत्रमा दसैंको नौं दिन दुर्गाको पुजा गरिन्छ भने दसैंको दिन सरस्वतीको पुजा गरिन्छ। यो दिन स्कुल पढ्ने विद्यार्थीले सरस्वतीको आर्शिवाद माग्दै भव्य रुपले पुजा गर्दछन। नयाँ घर किन्न, घर प्रवेश गर्न र बिहेवारिका लागि यो दिन उपयुक्त मानिन्छ।

६. तामिल नाडु

भारतको तामिल नाडु, कर्नाटक, आन्ध्र प्रदेशमा दशहराको नाममा नौं दिनसम्म् दसैं मनाइन्छ। अनौठो कुरा के छ भने उनिहरूले नौं दिन मध्य तीन–तीन दिन छुट्टा छुट्टै देवीको पुजा गर्दछन। सुरुको तीन दिन लक्ष्मीको, त्यसपछी तीन दिन सरस्वतीको र बाँकी तीन दिन दुर्गाको पुजा गरिन्छ।

७. गुजरात

ग्जरात क्षेत्रमा नवरात्रीको नामले परिचित छ, दसैं। नौं दिनसम्म् हरेक रात गर्बा नाच्ने चलन छ। महिला पुरुष सँगै नाँचिने यो नाँचमा अत्यन्तै आकर्षक पहिरनको प्रयोग हुन्छ। दुर्गाको मुर्ति, तस्वीर छेउमा राखी पि प्रज्वलन गरी यो नाँच नाँचिन्छ।

८. इरान

इरानमा पनि जमरा राखिन्छ। नेपालमा घटस्थापनाको दिन जमरा राखिन्छ।

इरानमा पनि जमरालाई नौं दिन सम्म राखेर तयार गरिन्छ, र दशौं दिन त्यसलाई टेबलमा सजाएर राख्ने प्रचलन छ। इरानमा नेपालमा जस्तो जमरा लगाउने भन्दा पनि त्यसलाई टेबलमा सजाएर राख्ने प्रचलन रहेको छ र त्यस दिन आफन्तका नाममा मैनवत्ती बाल्ने प्रचलन रहेको छ।

नेपालमा घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म दसैं मानिन्छ, भने नौरोज १३ दिनको हुन्छ। पूर्णिमामा जमरालाई नदिमा सेलाएको जस्तै इरानी जमरा पनि १३ दिनमा नजिकको नदीमा लगेर सेलनउने प्रचलन छ। तर इरानी जमरा राख्ने समय त्यहाँको नयाँ वर्षको अवसरमा हुने गरेको छ। नौरोजलाई संयुक्त राष्ट्रसङगको शिक्षा, विज्ञान तथा संकृति सङगठन युनेस्कोले विश्व सम्पदा सुचिमा राखेको छ। यो चाड इरानीसहित युरेशियन र मध्य एशियाली देशहरूमा पनि मनाइन्छ। दक्षिण एशियाका अफगानिस्तान, पाकिस्तान, भारत र बंगलादेशका केही स्थानमा नौरोज मनाइने युनेस्कोको वेबसाइटमा उल्लेख गरिएको छ। – एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्