बजेट र अर्थमन्त्रीको कार्यशैलीप्रति सांसद झाँक्रीको प्रश्न
काठमाडौं २९, जेष्ठ । राष्ट्रियसभा बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारद्वारा प्रस्तुत बजेट र अर्थमन्त्री डा. युवराज वाग्लेको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्।
झाँक्रीले अर्थमन्त्रीका अभिव्यक्ति र व्यवहारबीच स्पष्ट विरोधाभास देखिएको दाबी गर्दै तथ्याङ्कगत यथार्थलाई लुकाउन खोजिएको आरोप लगाइन्। उनले सरकारका गतिविधिहरू छलकपटपूर्ण रहेको टिप्पणी पनि गरिन्।
अर्थमन्त्रीले विगतमा ऋण लिनुलाई आलोचना गर्ने गरेको स्मरण गराउँदै झाँक्रीले अहिले भने ऋणलाई राज्य सञ्चालनको अनिवार्य सर्तका रूपमा व्याख्या गरिएको बताइन्। उनका अनुसार अर्थमन्त्रीको भनाइ र गराइमा एकरूपता देखिएको छैन।
‘पहिले ऋण लिनु गलत भन्ने, अहिले ऋणबिना राज्य चल्दैन भन्नु विरोधाभासपूर्ण कुरा हो,’ झाँक्रीले भनिन्।
उनले आफूलाई नयाँ शक्ति र नयाँ पात्रका रूपमा प्रस्तुत गर्नेहरूले व्यवहारमा भने पुरानै प्रवृत्ति दोहोर्याएको आरोप लगाइन्। साथै, योजना आयोगको सदस्य र उपाध्यक्ष भइसकेको व्यक्ति कसरी नयाँ हुन सक्छ भन्ने प्रश्न पनि उठाइन्।
झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा मन्त्रीहरूलाई समेत आफ्नो विगत समीक्षा गर्न आग्रह गर्दै राजनीतिक व्यवहारमा पारदर्शिता र जवाफदेहिताको आवश्यकता औँल्याइन्।





प्रतिक्रिया दिनुहोस्