आफ्नो कार्यकालको फाइलसमेत छानबिन गर्न वर्षमान पुनको चुनौती
काठमाडौं २९, जेष्ठ । नेकपा सांसद वर्षमान पुनले आफू अर्थमन्त्री रहेका बेला भएका निर्णय तथा बजेट प्रक्रियासम्बन्धी फाइलसमेत छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेका हुन्।
यसअघि अर्थमन्त्री वाग्लेले आफूविरुद्ध प्रश्न उठाउने सांसदहरूलाई लक्षित गर्दै ‘पुराना काण्डहरू पनि खुल्नेछन्’ भन्ने अभिव्यक्ति दिएको प्रसङ्ग उल्लेख गर्दै पुनले आफ्नो कार्यकालदेखि नै छानबिन गर्न आफू तयार रहेको बताए।
पुनले संसद र संसदीय समितिमा उठाइएका विषयलाई आरोपका रूपमा नभई जिज्ञासा, प्रश्न र स्पष्टीकरणका रूपमा लिनुपर्ने धारणा राखे। उनले अर्थमन्त्रीले संसदमा सातवटा करका दर परिवर्तन गरेको स्वीकार गरेको दाबी गर्दै यस विषयमा गम्भीर छानबिन आवश्यक रहेको बताए।
उनले बजेट निर्माण र संशोधनका लागि निश्चित कानुनी तथा संस्थागत प्रक्रिया रहेको उल्लेख गर्दै मन्त्रिपरिषद्बाट पारित भइसकेको आर्थिक विधेयकमा व्यक्तिगत रूपमा परिवर्तन गर्न नपाइने जिकिर गरे। संसदमा प्रस्तुत भइसकेको दस्तावेजमा प्रक्रिया मिचेर हेरफेर गरिएको भए त्यसले संसदको मर्यादा र सर्वोच्चतामाथि प्रश्न उठाउने उनको भनाइ थियो।
सांसद पुनले वर्तमान, गत वर्ष तथा आफ्नो कार्यकालसहित सबै आर्थिक विधेयक र करसम्बन्धी निर्णयहरूको निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गर्न प्रस्ताव गरे। उनले नयाँ सांसदहरूलाई समेटेर समिति बनाएर तथ्यगत अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले यो विषय पुराना र नयाँ राजनीतिक शक्तिबीचको विवाद नभई विधि, पद्धति, नैतिकता र संसदको सर्वोच्चतासँग सम्बन्धित रहेको बताउँदै पारदर्शी छानबिनमार्फत सत्य तथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिए।





प्रतिक्रिया दिनुहोस्