कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताको रकम फिर्ता गराउन सांसद सुवेदीको माग

काठमाडौं २९, जेष्ठ ।  प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवेदीले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा निक्षेपकर्ताहरूको रकम फिर्ता हुन नसकेको र रकम अपचलन भएको विषयप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सांसद सुवेदीले दाङ, बाँके, बर्दिया लगायत देशभरका हजारौँ नागरिक यस समस्याबाट प्रभावित भएको उल्लेख गर्दै उक्त विषय सदनको ध्यानाकर्षण गराएका हुन्।

उनका अनुसार बैंकमा १७ हजार १५६ जना सर्वसाधारण र ६ हजारभन्दा बढी संघ–संस्थाको गरी करिब ४ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी निक्षेप जोखिममा परेको छ।

‘भविष्यको सहाराका लागि नागरिकहरूले जीवनभरको कमाइ बचत गरेका छन्। तर रकम फिर्ता नपाउँदा उनीहरू गम्भीर मानसिक र आर्थिक समस्यामा परेका छन्,’ उनले भने।

सांसद सुवेदीले सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराउँदै घटनामा संलग्न दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न माग गरे। साथै, निक्षेपकर्ताहरूको रकम यथाशीघ्र फिर्ता हुने व्यवस्था मिलाउन पनि उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्