माल्टाको एयरपोर्टबाट तीन महिलासहित आठ जना नेपाली पक्राउ

काठमाडौँ | माल्टाबाट पोर्चुगल जाने क्रममा माल्टाको एयरपोर्टबाट आठ जना नेपाली पक्राउ परेका छन् । आईडी कार्ड (टीआर कार्ड) नवीकरण नभएका, आईडी कार्ड (टीआर कार्ड) नै खारेज भएका, ब्लु पेपर र भिजा स्ट्याम्पिङ डकुमेन्ट्समा मात्र ट्राभल गर्न खोज्ने क्रममा अध्यागमन विभागको अनुसन्धानबाट पक्राउ परेको गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाले जनाएको छ ।

पक्राउ परेका नेपालीलाई सोधपुछका लागी हाल माल्टाको हालसाफि डिटेन्सन सेल्टरमा नियन्त्रणमा राखिएको छ । पक्राउ परेका ९ जनामध्ये ५ जना पुरुष र ३ जना महिला छन् । १ जना महिला भने आफन्तहरुको सहयोगमा छुटेकी छन । पक्राउ परेका नेपालीलाई छुटाउन पहल भईरहेको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले जानकारी दिए ।

माल्टा आएर काम नगरी सेङ्गिङ कन्ट्रिज अथवा अन्य मुलुकतर्फ जान खोज्नेहरूलाई माल्टा प्रहरीले कडा निगरानी गर्दै पक्राउ गर्ने अभियान नै चलाएको जनाएको छ । त्यसैले पूर्ण कागजात र रोजगारदाताको स्वीकृतिबिना यो परिवेशको निर्णय नलिन सम्पूर्ण माल्टा एवं गोजोबासी नेपालीमा एनआरएनएले अनुरोध गरेको छ । एनआरएनएसँग पूर्ण डक कटा बेस हुँदाहुँदै पनि व्यक्तिगत गोपनीयताका कारण कसैको पनि नाम प्रकाशित नगरिएको जनाएको छ ।

यस्तै, विविधि मामला र अवैध अवस्थामा परेका नेपालीका लागि परामर्श दिने हेतुले एनआरएनएको कार्यालय प्रत्येक दिन खुला रहने जनाएको छ । पछिल्लो समय दुबईबाट माल्टा जाने क्रम बढेको र त्यहाँबाट पनि पोर्चुगल, पोल्यान्डलगायतका देशमा गैरकानुनी तरिकाले नेपाली जाने क्रम बढेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्