अवैध लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं, भदौ ६ ।  देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेकाा छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज एरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ११ केजी ७ सय ग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा लम्जुङ दोर्दी गाउँपालिका-५ फोर्जुङ घर भएका ३४ वर्षीय सुन्दर गुरूङ र लम्जुङ छैलुङ घर भएका ४७ वर्षीय औता राम गुरूङ रहेका छन् ।

बाटिक एयरको उडानद्वारा मलेसिया हुँदै थाईल्यान्ड जान लागेका उनीहरूको लगेजभित्र फल्स बटम बनाई टेपले र्‍यापिङ गरिएको अवस्थामा सुन्दरको साथबाट ६ केजी र औता रामको साथबाट ५ केजी ७ सय ग्राम उक्त पदार्थ फेला परेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्‍वरमा बुझाइएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ स्थित खाजा पसलबाट अवैध लागूऔषध गाँजा करिब ५० ग्रामसहित काठमाडौं जडिबुटी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भएका २६ वर्षीय धिरज लामासहित ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा गाँजा सेवन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१६ टंकपसरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही उपमहानगरपालिका-१५ जमुनाह बस्ने २० वर्षीय ओसिम साईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाकाे बिर्तामोड नगरपालिका-४ नयाँ बिजुली अफिस नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ५०० मिलिग्राम र २ थान मोबाइलसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने ३५ वर्षीय सन्तोष भन्ने तेज बहादुर राई र ३८ वर्षीय राज भन्ने कृष्ण लिम्बु रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङकाे विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २८ मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय बिशाल सिंहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्