प्रदेश ५ को स्थितिपत्र तयार, चैत २९ मा सार्वजनिक हुने

काठमाडौं।  प्रदेश ५ सरकारले प्रदेशको अवस्थाबारे स्थितिपत्र तयार गरेको छ। प्रदेशको आर्थिक र सामाजिक अवस्थाको बारेमा १२ वटा जिल्लाको तथ्यांक विश्लेषण गरी प्रदेश सरकारले स्थितिपत्र तयार गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्थितिपत्र स्वीकृत गर्दै आगामी चैत २९ गते बस्ने प्रदेशसभा बैठकबाट सार्वजनिक गर्ने निर्णय गरेको छ। स्थितिपत्रमा प्रदेशको जनसंख्या, मानव विकास सूचकांक, प्रतिव्यक्ति आय, प्रदेशका विकास निर्माणको अवस्थालगायतका विषयहरु समेटिएको प्रवक्ता चौधरीले जानकारी दिए।

उनका अनुसार सरकारले बनाउने योजनाहरु स्थितिपत्रलाई आधार मानेर तयार हुनेछन्। ‘हामीले अहिले प्रदेशको समग्र अवस्था के छ भन्ने जानकारी राख्न र त्यसैअनुसारका विकासे योजना बनाउनका लागि स्थितिपत्र तयार गरेका हौं,’ उनले भने, ‘यसले एउटा अवस्थाको बारेमा चित्र देखाउने छ र त्यसैअनुसार विकासको काम अघि बढाउन सहज हुनेछ।’

प्रतिक्रिया दिनुहोस्