युवा उद्यमीहरू भन्छन्- विदेश पलायन रोकौँ, फर्किएकाको सीप सदुपयोग गरौँ
काठमाडौं, बैशाख २० । देशको आर्थिक समृद्धिका लागि उद्यमी र स्वरोजगारलाई प्रोत्साहन गर्नुपर्नेमा उद्यमी युवाहरूले जोड दिएका छन्।
मिडिया इन्टरनेसनलद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी उद्यमीहरूले आन्तरिक उत्पादन बढाउने प्रभावकारी नीति नलिएसम्म आर्थिक समृद्धिको आकांक्षा पूरा नहुने बताएका हुन्।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले युवाहरू नै देश विकासको आधारस्तम्भ रहेको भन्दै आफू नेतृत्वको संस्थाले युवालक्षित योजनामा काम गरिरहेको जानकारी गराए।
कोषले उद्मम गर्न चाहने युवाहरूलाई बिनाधितो ऋणसँगै ब्याज अनुदानसमेत दिँदै आएको उनले बताए। स्रोतसाधन कम भए पनि कोषले वार्षिक १२ हजार युवालाई स्वरोजगार बनाइरहेको उनको दाबी छ।
कोषका कार्यकारी निर्देशक अधिकारीले भने, ‘देशमा बढ्दो बेरोजगार अनि काम खोज्दै विदेशिएका युवा, आयातमुखी अर्थतन्त्र आदिलाई सम्बोधन गर्न सरकारले स्थानीय स्रोतसाधनको समुचित प्रयोग हुने गरी देशमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगारमैत्री व्यावसायिक परियोजना सञ्चालन गर्न स्थानीयस्तरमा सुलभ र सुरक्षित व्यावसायिक कर्जा उपलब्ध गराउनुपर्छ।’
उद्यमशीलताको विकासमार्फत देशभित्र स्वरोजगारी सिर्जना गर्न ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन नियमावलीुअन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना भएको उनले बताए। ‘यहीअनुसार हामीले काम गरिरहेका छौँ’, अधिकारीले भने।
कोषले कृषि कर्ममा संलग्न महिला र दुर्गम क्षेत्रलाई प्राथमिकता दिँदै आएको उनको भनाइ छ। अहिले १२ कक्षा पास गर्नासाथै आफ्ना छोराछोरीलाई विदेश पठाउने चलन बढेको भन्दै उनले यसलाई परिवर्तन गर्न आवश्यक रहेको औँल्याए।
नेपाल लघुवित्त बैंकर्स संघका महासचिव एवम् नेसनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले नेपालमा हाल ६२ वटा लघुवित्तबाट ३३ लाख मानिसले वित्तीय स्रोत पाएर व्यवसाय गरिरहेको बताए। ग्रामीण अर्थतन्त्र विकासका लागि सहकारी र लघुवित्तको विकल्प नभएको उनको भनाइ छ।
लघुवित्तले वित्तीय जागरणको सरकारी अभियानलाई पनि प्रभावकारी बनाउन भूमिका खेलिरहेको भन्दै लघुवित्तबारे फैलाइएका भ्रम चिर्न आवश्यक रहेको यादवले बताए। उनले भने, ‘लघुवित्तले एसोसिएसनमार्फत जिल्लागत रूपमा साक्षरताका कार्यक्रमहरू भएका छन्।’
रोजगारी, उत्पादन र देशको अर्थतन्त्रलाई बढाउन कृषि क्षेत्र नै मुख्य आधार रहेको उनको भनाइ छ। ६६ प्रतिशत जनसंख्या कृषिमा संलग्न रहेको भन्दै उनले कृषिलाई कसरी व्यावसायीकरण गर्ने भन्नेमा राज्यले ध्यान दिनुपर्ने बताए।
व्यवसायीकरणका लागि प्राविधिक सहयोग चाहिने भन्दै उनले उत्पादन गरेको वस्तुलाई बजारसम्म पुर्याउन सहजीकरण गरिदिन कार्यक्रममार्फत नै तीनै तहका सरकारको ध्यानाकर्षण गराए।
राष्ट्रिय व्यापार संघका महासचिव बैकुण्ठ दाहालले काठमाडौंको व्यस्त व्यापारिक केन्द्र न्युरोडका ठूला घरानाको व्यापार फस्टाए पनि साना व्यवसायीहरू भने समस्यामा परेको बताए। उनले भने, ‘न्यूरोडलगायत देशभरका साना व्यवसायीको अवस्था नाजुक छ। उनीहरूलाई अहिले बैंक वित्तले न ऋण पत्याएका छन्, न ऋणको ब्याज नै तिर्न सक्ने अवस्थामा छन्।’
विदेशबाट फर्किएका सीपयुक्त युवालाई स्वरोजगार बनाउनुपर्नेमा उनको जोड छ। नेपालको शिक्षा नीति नै परिवर्तनको खाँचो रहेको बताउँदै उनले विदेश पलायन भएका युवालाई अवसरसहित स्वदेश फर्काउनुपर्ने बताए। युवालाई आफ्नै देशमा गरिखाने वातावरण सरकारले बनाइदिनुपर्नेमा उनले जोड दिए।
नेपाल एग्रो लाइभका कार्यकारी प्रमुख राजन गैरेले कार्यपत्र प्रस्तुत गर्दै अबका दिनमा कृषकहरू स्मार्ट कृषितर्फ लाग्नुपर्ने बताए। जलवायु परिवर्तन अनुकूल प्रविधि प्रयोग गरेर, बजारलाई हेरेर उत्पादन गर्नुपर्ने उनको जोड छ। सीमित जग्गामा धेरै उत्पादन गर्ने गरी कृषकहरू लाग्नुपर्ने गैरेले बताए।
आफूहरूले बजार सहजीकरण र कृषक अभिमुखीकरण गर्दै आएको उनको भनाइ छ। उत्पादन गरेर मात्रै बजारीकरण नहुने भन्दै उनले मागअनुसारको योजना बनाउन किसानलाई आग्रह समेत गरे।
व्यवसायी राजन ढकालले पनि विदेशबाट फर्किएका युवालाई सरकारले उद्यमी बन्नका लागि प्रेरित गर्नुपर्ने बताए। उनले भने, ‘सरकारले युवाहरूलाई उद्यमी बन्ने वातावरण सिर्जना गर्नुपर्छ। अनि युवाहरू नेपालमै गरौं भनेर लाग्छन्। आज लाखौं युवा रोजीरोटीको लागि देश छोडिरहेका छन्। युवाहरू स्वदेशमै केही गर्न चाहन्छन्। त्यसमा सरकारले सहजीकरण गर्नुपर्छ।’
उपासना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अमरावती महर्जनले सहकारीले गरेका नराम्रा कुराबारे मात्रै बाहिर आउने तर राम्रा कामहरू आउन नसकेको गुनासो गरिन्। उनले व्यवसायी होस् वा अर्थतन्त्रमा सहकारीको महत्त्व धेरै रहेको बताइन्।
अहिले १८ वर्षमाथिका ४० वर्ष कटेका व्यक्तिहरू समेत विदेश जान विमानस्थलमा लाइन लाग्ने गरेको भन्दै त्यस्ता व्यक्तिहरूलाई नेपालमै स्वरोजगार बनाउन ध्यान दिनुपर्ने उनले बताइन्।
व्यवसायी एम कार्कीले आफू कृषि पेसालाई एकीकृत रूपमा लैजान लागि परेको बताए। सामाजिक उद्यमशीलताको विकास कसरी गर्न सकिन्छ भनेर त्यसतर्फ आफू लागिरहेको उनको भनाइ छ।
उद्यमी डिल्लीकुमार राईले साना उद्यमीहरूको व्यवसायमा पहुँच नपुग्ने गरेको र काठमाडौंमा जसको पहुँच छ, उसैले कृषकका नाममा लाभ लिएको बताए। उनले काठमाडौंका पहुँचवालाले खोटाङजस्ता ग्रामीण भेगलाई पनि मध्यनजर गर्नुपर्ने बताए।
कर तिरिरहेका व्यावसायीलाई सरकारले अप्ठेरोमा साथ दिनुपर्ने उनको भनाइ छ। राईले व्यवसायीलाई करमा छुट दिइनुपर्ने माग राखे।
व्यवसायी युवा उचिता महर्जनले जैविक मलका विषयमा कार्यपत्र प्रस्तुत गर्दै १० वर्षदेखि आफूहरूले जैविक मलका विषयमा बुझाउँदै आएको बताइन्। उनले युवाहरूले पनि उत्पादनको क्षेत्रमा जोड दिनुपर्ने बताइन्। देशको आर्थिक अवस्था सन्तोषजक नरहे पनि कृषि क्षेत्रमा अवसर धेरै रहेको उनको भनाइ छ।
अन्तर्क्रिया आयोजक संस्था मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोसले विगतदेखि नै आफूहरूले वित्तीय साक्षरता कार्यक्रम र युवा स्वरोजगार कार्यक्रमलाई सँगसँगै लगेको जानकारी दिए। मुलुकको समृद्धिमा सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन सके अभियान प्रभावकारी हुने उनले बताए।
प्रतिक्रिया दिनुहोस्