राष्ट्रिय वैकल्पिक मोर्चा गठनका लागि जनमत पार्टीको पहल, वार्ता कार्यदल गठन

काठमाडौं १, असार । जनमत पार्टीले समान राजनीतिक सिद्धान्त, विचार र लक्ष्य भएका दलहरूसँग सहकार्य तथा एकीकरणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यसका लागि पार्टीले राष्ट्रिय वैकल्पिक मोर्चा गठन गर्ने पहल सुरु गरेको जनाएको छ।

पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लगायतका दलहरूसँग मोर्चाबन्दी तथा सम्भावित पार्टी एकीकरणबारे संवाद अघि बढाउने निर्णय गरेको हो।

यस उद्देश्यका लागि जनमत पार्टीले नरेन्द्र चौधरीको संयोजकत्वमा तीन सदस्यीय वार्ता कार्यदल गठन गरेको छ। कार्यदलमा जयकान्त राउत र प्रमोदकुमार गुप्ता सदस्य रहेका छन्।

पार्टीका अनुसार कार्यदलले वैकल्पिक राजनीतिक शक्तिहरूसँग छलफल गरी साझा राजनीतिक एजेन्डा निर्माण, सहकार्यको आधार तय तथा मोर्चा गठनका सम्भावनाबारे आवश्यक वार्ता गर्नेछ।

जनमत पार्टीले देशमा वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र सहकार्यको आवश्यकता रहेको उल्लेख गर्दै समान सोच र उद्देश्य भएका दलहरूलाई एकै मञ्चमा ल्याउने प्रयासलाई तीव्रता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्