मदिरा र सुर्तीजन्य बाहेकका उद्योगको दर्ता नि:शुल्क गर्ने लुम्बिनी सरकारको घोषणा

काठमाडौं १, असार । लुम्बिनी प्रदेश सरकारले मदिरा तथा सुर्तीजन्य उद्योगबाहेक अन्य उद्योगहरूको दर्ता नि:शुल्क गर्ने व्यवस्था ल्याउने भएको छ।

लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले उक्त घोषणा गरेका हुन्। उनका अनुसार उद्योग तथा व्यवसाय स्थापनालाई प्रोत्साहन गर्न मदिरा र सुर्तीजन्य उद्योगबाहेकका उद्योगहरूको दर्ता शुल्क नलाग्ने व्यवस्था गरिनेछ।

त्यसैगरी प्रदेश सरकारले उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमीहरूलाई ब्याजमा अनुदान उपलब्ध गराउने कार्यक्रम पनि अघि सारेको छ। मन्त्री कार्कीले महिलालाई उद्यम तथा व्यवसायमा आकर्षित गर्न सहुलियतपूर्ण वित्तीय पहुँच सुनिश्चित गर्ने उद्देश्यले ब्याज अनुदान कार्यक्रम सञ्चालन गरिने बताए।

प्रदेश सरकारले उद्योगमैत्री वातावरण सिर्जना गर्दै रोजगारी वृद्धि र आर्थिक गतिविधि विस्तारमा टेवा पुर्‍याउने लक्ष्यका साथ यी कार्यक्रमहरू बजेटमा समेटेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्