सिटिजन्स बैंकद्वारा लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा असुलीसम्बन्धी कार्यक्रम आयोजना

मंसिर ७, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुलीलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेको छ।

बैंकले प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागितामा ‘सिटिजन्स बिल्डिङ स्केल एण्ड भ्यालुः लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुली (आर्थिक वर्ष २०८३/८४)’ शीर्षकमा कार्यक्रम सञ्चालन गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गरिएको थियो। साथै, चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताहरूबारे छलफल गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउने, कर्जा विस्तारलाई प्रभावकारी बनाउने तथा कर्जा असुली प्रक्रियालाई व्यवस्थित गर्ने विषयमा समेत अन्तरक्रिया भएको थियो।

हाल सिटिजन्स बैंकले लुम्बिनी प्रदेशका नौ जिल्लामा ५१ वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले पछिल्लो समय डिजिटल बैंकिङ तथा नवीन वित्तीय सेवाको विस्तारलाई प्राथमिकता दिँदै विभिन्न सेवा सञ्चालनमा ल्याएको छ। विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ।

त्यसैगरी, नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, एकीकृत अनलाइन बैंकिङ प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरहरूका लागि विशेष ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ।

बैंकले मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा सीआरएन नम्बर प्राप्त गर्न सकिने सुविधा पनि उपलब्ध गराएको छ। साथै, क्रस बैंक टेलर सेवा सुरु गर्दै अन्य बैंकका ग्राहकलाई समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने व्यवस्था गरेको छ।

हाल बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८५ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्