भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग घोषणा, ऋण र अनुदानको हिस्सा अझै अस्पष्ट

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन शाहसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त सहयोगको घोषणा गरेका हुन्।

यद्यपि, घोषित सहयोगमध्ये कति रकम सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र कति अनुदानका रूपमा उपलब्ध हुनेछ भन्नेबारे भारतले औपचारिक रूपमा खुलाएको छैन। स्रोतका अनुसार सहयोगमध्ये १ खर्ब भारु ऋण र ५० अर्ब भारु अनुदान रहनेछ।

नेपालले भारतसँग कुल २ खर्ब भारु आर्थिक सहयोग माग गरेको थियो। त्यसमा १ खर्ब भारु सहुलियतपूर्ण ऋण र १ खर्ब भारु अनुदान उपलब्ध गराउन प्रस्ताव गरिएको थियो। भारतले ऋणतर्फ नेपालको माग स्वीकार गरे पनि अनुदान रकम भने आधा घटाएको स्रोतको भनाइ छ।

नेपालले माग गरेको १ खर्ब भारु अनुदानमध्ये ५० अर्ब रसुवामा आएको बाढीपछि पुनर्निर्माणका लागि र बाँकी ५० अर्ब बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि उपलब्ध गराउन प्रस्ताव गरेको थियो। तर, भारतले कुन परियोजनामा कति रकम उपलब्ध गराउने भन्ने विषयमा स्पष्ट पारेको छैन।

भारतले यसअघि पनि नेपालका लागि चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ। तर, ती ऋण सुविधाको उपयोग अपेक्षाकृत न्यून भएको देखिन्छ। नेपालले दुई वर्षअघि अर्थात् सन् २०२४ मा भारतले घोषणा गरेको ९० करोड अमेरिकी डलर बराबरको लाइन अफ क्रेडिट रद्द गरेको थियो।

यसअघि सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमणका क्रममा १ अर्ब अमेरिकी डलर आर्थिक सहयोग घोषणा गरेका थिए। सन् २०१५ मा नेपालमा विनाशकारी भूकम्प गएपछि उक्त सहयोगलाई भूकम्पपछिको पुनर्निर्माणमा केन्द्रित गरिएको थियो।

त्यसअन्तर्गत २५ करोड अमेरिकी डलर अनुदान र ७५ करोड अमेरिकी डलर ऋणका रूपमा छुट्याइएको थियो। अनुदानबापतको २५ करोड डलर पुनर्निर्माणमा खर्च भए पनि ७५ करोड डलरको ऋण सुविधामध्ये करिब ५ करोड डलर मात्रै उपयोग हुन सकेको थियो।

भारतको लाइन अफ क्रेडिटअन्तर्गत सञ्चालन हुने आयोजनामा कम्तीमा ७५ प्रतिशत भारतीय वस्तु तथा सामग्री प्रयोग गर्नुपर्ने प्रावधान छ। यही सर्तका कारण भारतले घोषणा गरेको ऋण सहयोगमध्ये ठूलो रकम उपयोग हुन नसकेको अर्थ मन्त्रालय स्रोतको दाबी छ। स्रोतका अनुसार करिब ८५ अर्ब भारु बराबरको ऋण सुविधा उपयोग हुन सकेको थिएन।

अर्थ मन्त्रालय स्रोतका अनुसार, यसअघि प्रतिबद्धता गरिएको ९० करोड अमेरिकी डलरमध्ये अधिकांश रकम खर्च हुन नसकेपछि नेपालले सन् २०२४ मा उक्त सुविधा रद्द गरेको थियो। त्यसपछि करिब १० करोड अमेरिकी डलर थपेर १ खर्ब भारु बराबरको नयाँ लाइन अफ क्रेडिट घोषणा गर्न नेपालले भारतसँग आग्रह गरेको थियो।

नेपालको उक्त प्रस्तावमा भारत सहमत भएको भए पनि अनुदानको रकम भने घटाएर मात्रै सहयोग घोषणा गरिएको स्रोतको भनाइ छ।

यसले भारतको आर्थिक सहयोग घोषणाभन्दा पनि त्यसको कार्यान्वयन, ऋण उपयोगका सर्त र अनुदानको वास्तविक उपलब्धता महत्वपूर्ण हुने देखाएको छ। विगतमा घोषणा गरिएका ऋण सुविधासमेत पूर्ण रूपमा उपयोग हुन नसकेको अवस्थामा नयाँ सहयोगबाट नेपालले कति लाभ लिन सक्छ भन्ने विषय कार्यान्वयनपछि मात्रै स्पष्ट हुनेछ।

प्रतिक्रिया दिनुहोस्