छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं, बैशाख ८ । काठमाडौंको टोखा नगरपालिका-२ चण्डेश्वरीस्थित सडकमा बागमती प्रदेश ०१-०२६ च ०३७४ नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ८ वर्षीया स्वेच्छा गुरुङको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा
लिएको छ ।
यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-८ जरङ्खु शिवमन्दिर नजिक प्र-३-०२- ००६ प ४४१९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार चितवन घर भई हाल काठमाडौं नयाँबजार सोह्रखुट्टे बस्ने ३० वर्षीय प्रदिप पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित १ नम्बर पुल नजिकै हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्र.२-०३-०५प ९८६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-२१ अमलेखगञ्ज बस्ने ७० वर्षीय मनिस लामाको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको एल.एस.न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, पोखरा महानगरपालिका-३२ लामेआहालस्थित डम्पिङ साईडमा पोखरा महानगरपालिकाको ग.१ ग १३४ नम्बरको बुलडोजरले फोहोर व्यवस्थापन गर्ने क्रममा अनियन्त्रित भई डोजर पल्टिँदा चालक सोही महानगरपालिका-१५ रामबजार बस्ने ६२ वर्षीय मुसाफिर दासको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
सर्लाही, ईश्वरपुर नगरपालिका-१५ बस्ने श्याम दासको छोरा १२ वर्षीय आशिष कुमार दासको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा खेल्ने क्रममा पंखामा रहेको तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको स्थानीय पोली क्लिनिक हुँदै मोडेल अस्पताल लालबन्दीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
बाँके, कोहलपुर नगरपालिका-१४ हवल्दारपुर बस्ने बर्दिया बढैयाताल गाउँपालिका- ३ घर भएका ३२ वर्षीय खिम बहादुर रानाको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ । धारामा पानी भर्ने क्रममा धारामा जडान भएको मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
दाङ, तुलसीपुर उपमहानगरपालिका-१७ वनकट्टी बस्ने तिल बहादुर रावतकी छोरी १४ वर्षीया चेतना रावतको सोही ठाउँस्थित संग्राम खोला र हापुर खोलाको दोभानमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको उद्दार गरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीमा जलेर एक जनाको मृत्यु गुल्मी, धुर्कोट गाउँपालिका-३ हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउने क्रममा जलेर सोही ठाउँ बस्ने १३ वर्षीय दिपक मुखियाको मृत्यु भएको छ । बिहीबार राति लागेको उक्त आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घास हुँदै मिसन अस्पताल पाल्पामा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । साथै उक्त आगो निभाउने क्रममा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ५५ वर्षीय धन बहादुर जोगी कुँवरलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।














प्रतिक्रिया दिनुहोस्